माडीका तीन विद्यालयमा अक्षयकोष स्थापना 

२०८२ कार्तिक २१ शुक्रबार १७:११:०० मा प्रकाशित

चितवन । माडी नगरपालिका-५, ब्रह्मपुरी निवासी सरिता ढकालले जनकल्याण मा.वि., माडी मा.वि. र ब्रह्मज्योति आधारभूत विद्यालयमा एकैसाथ ३ वटा अक्षयकोष स्थापना गर्नुभएको छ ।


ढकालले आफ्‌ना दिवंगत बुबा भुवानीप्रसाद अधिकारी, दिवंगत आमा सेती अधिकारी र दिवंगत दिदी सरस्वती अधिकारीको स्मृतिमा आफू संरक्षक तथा आफ्‌ना सन्तानद्वय सुदिप ढकाल र सुदिना ढकाल सदस्य रहनेगरी सो अक्षयकोषहरु स्थापना गर्नुभएको हो ।


आफूले पढेको विद्यालय जनकल्याण मा.वि. कल्याणपुर, आफ्‌ना श्रीमान (स्काउटकर्मी एवं शिक्षक भविश्वर ढकाल) ले पढेको माडी माध्यमिक विद्यालय, बसन्तपुर र श्रीमान ढकालले शिक्षण गर्ने ब्रह्मज्योति आधारभूत विद्यालय, ब्रह्मपुरीमा एकैसाथ अक्षयकोष स्थापना गरेको उहाँले जानकारी दिनुभयो ।


जनकल्याण माध्यमिक विद्यालयमा रु ५० हजार ५ सय ५५, माडी माध्यमिक विद्यालयमा ३० हजार ३ सय ३३ र ब्रह्मज्योति आधारभूत विद्यालयमा २० हजार २ सय २२ रुपैंयाको अक्षयकोष स्थापना भएको हो ।


प्रत्येक बर्ष अक्षयकोषबाट प्राप्त हुने ब्याजको २० प्रतिशत रकम कोषमा थप गर्दै जाने र बाँकी ८० प्रतिशत रकमबाट कक्षा ८ मा प्रथम हुने छात्रा विद्यार्थीलाई छात्रवृत्ति प्रदान हुने व्यवस्था रहेको अक्षयकोषका सल्लाहकार भविश्वर ढकालले बताउनुभयो ।