नेपाल वायुसेवा निगमले श्रमिक यात्रुका लागि ल्यायो छुटसहित नयाँ भाडादर 

२०८२ मङ्सिर १२ शुक्रबार १८:०१:०० मा प्रकाशित

काठमाण्डौं । नेपाल वायुसेवा निगमले विदेशमा रोजगारीका लागि जाने नेपाली श्रमिक यात्रुहरूलाई लक्षित गर्दै विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको छ । निगमले काठमाडौंबाट दमाम, दोहा, दुबई र क्वालालाम्पुर गन्तव्यतर्फ यात्रा गर्ने श्रमिक यात्रुका लागि प्रत्येक उडानमा १० वटा सिटमा साधारण भाडामा १० प्रतिशत सहुलियत उपलब्ध गराउने निर्णय गरेको हो ।

 

निगमका अनुसार, श्रमिक वर्गलाई सहज र किफायती यात्रा सुविधा उपलब्ध गराउने उद्देश्यले ल्याइएको यो योजना निगमका नेपालस्थित कार्यालयका टिकट काउन्टरमार्फत आवश्यक कागजात पेस गरी प्राप्त गर्न सकिनेछ । नयाँ भाडादर योजना लागू भएपछि श्रम गन्तव्यमा हुने यात्रामा थप सुविधा, सहयोग र सहुलियत पुग्ने विश्वास निगमले व्यक्त गरेको छ । थप जानकारी चाहिने यात्रुहरूले केन्द्रीय कार्यालयमा सम्पर्क गर्न निगमले आग्रह गरेको छ ।