नगर स्तरीय प्याब्सन फुटबल प्रतियोगितामा अमर इंग्लिस स्कुल प्रथम
गैंडाकोट । गैंडाकोटमा सम्पन्न नगर स्तरीय प्याब्सन फुटबल प्रतियोगितामा अमर इंग्लिस स्कुल पहिलो भएको छ। ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद’ भन्ने नारासहित गैंडाकोट नगर प्याब्सनको आयोजना तथा खेलकुद समितिको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा विजय सामुदायिक शिक्षा सदन दोस्रो, र सरस्वती निकेतन आवासीय विद्यालय तथा ज्ञानकुञ्ज इंग्लिस स्कुल तृतीय भएका छन् ।
नगरपालिकाभित्रका १४ वटा संस्थागत विद्यालयहरूले सहभागिता जनाएको प्रतियोगिताका विजयी टिम तथा उत्कृष्ट खेलाडीहरूले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । नगरस्तरमा पहिलो भएको अमर इंग्लिस स्कुलले अब जिल्ला स्तरीय प्याब्सन कप फुटबल प्रतियोगितामा गैंडाकोटबाट प्रतिनिधित्व गर्ने गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रम नगर शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा, गैंडाकोट नगर प्याब्सन अध्यक्ष भरतबाबु कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला बक्सिङ संघका सल्लाहकार रामबहादुर पुन, जिल्ला फुटबल संघ सदस्य गौरवभक्त अधिकारीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण सचिव निर्मल पाण्डेले गर्नुभएको थियो। प्रतियोगिता गैंडाकोट क्षेत्रीय रंगशालामा सम्पन्न भएको थियो।