बघौँडा अस्पतालमा डाक्टरमाथि कुटपिट, दोषीमाथि कडा कारबाहीको माग
चितवन । माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालमा बिहीबार राति चिकित्सकमाथि भएको कुटपिट घटनाप्रति अस्पताल प्रशासनले गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि कडा कानूनी कारबाहीको माग गरेको छ ।
अस्पतालले इलाका प्रहरी कार्यालय माडीलाई पत्राचार गर्दै मंसिर १२ गते राति करिब १ः१५ बजे माडी-५ का २७ वर्षीय किरण खाती र माडी-७ का २६ वर्षीय संगम (पूरा नाम खुल्न बाँकी) सहित झन्डै ४-५ जनाको समूहले अस्पताल परिसरमै आएर डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको जनाएको छ। घटनामा चिकित्सक डा. दीपेन्द्र विश्वास, डा. देवेन्द्र विश्वास, हेल्थ असिस्टेन्ट अनुप सुवेदी र कर्मचारी कविराज तिवारी घाइते भएको अस्पतालले जनाएको छ ।
अस्पतालका निमित्त मेसु डा. धिरञ्जन प्रसाद साहले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण अत्यन्त निन्दनीय भएको उल्लेख गर्दै घटनामा संलग्न व्यक्तिलाई तुरुन्त पक्राउ गरी कानूनअनुसार कडा कारबाही गर्न माग गरेका छन् ।
