बाँदरको आतंक बढेसँगै पशुपालनतर्फ आकर्षित तनहुँका किसानहरु
तनहुँ । कृषकले दुःख गरेर लगाएको अन्नबाली भित्र्याउन नपाउँदै बाँदरले नष्ट गरिदिएपछि हैरानी खेपिरहेका तनहुँका किसान अहिले पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । बाँदर आतङ्ले गर्दा खेतीयोग्य जमिन बाँझो राख्ने क्रम बढेपछि भेटेरिनरी तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले बाँझो जमिनमा घाँस खेती प्रवर्धन कार्यक्रम सुरु गरेको छ। बाँदरले घाँसलाई क्षति नगर्ने र पशुपालनबाट राम्रो आम्दानी हुने भएपछि यो कार्यक्रम ल्याइएको हो।
केन्द्रका प्रमुख रविनसन अधिकारीका अनुसार किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गर्नुका साथै प्राविधिक ज्ञानसमेत प्रदान गर्न थालिएको छ। केन्द्रले यस वर्ष १० हजारभन्दा बढी बेर्ना उत्पादन गरी वितरण गर्ने लक्ष्य राखेको छ । घाँसको सेवनले पशुको उत्पादकत्व बढ्नुका साथै दुध पनि बढी पोषिलो हुने भएकोले किसानलाई प्रोत्साहन गर्न निःशुल्क बिरुवा दिने गरिएको केन्द्रले जनाएको छ । खेतीमा लगानी अनुसारको प्रतिफल नहुने र बाँदरले बाली सखाप पार्ने भएपछि धेरै युवाहरू कृषि छाडेर वैदेशिक रोजगारीमा पलायन भइरहेका छन्। यो कार्यक्रमले बाँझो जमिनको सदुपयोग गर्दै गाउँमै रोजगारी सिर्जना गर्ने विश्वास लिइएको छ।