जेनजी आन्दोलनः जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, अर्को साता ओली-लेखकको बयान लिइने

२०८२ पौष २ बुधबार १९:०२:०० मा प्रकाशित

काठमाण्डौं । गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ । बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरूले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेका हुन् ।

 

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरिएको हो । जाँचबुझ आयोगका अध्यक्ष कार्कीले आयोगलाई काम गर्न केहि समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिनुभयो ।

 

जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराउनुभएको छ । त्यस्तै कार्कीले अर्को साता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली  र पूर्वगृहमन्त्री रमेश लेखक लगायत राजनीतिक दलका नेताहरूलाई बयानमा बोलाउने तयारी भएको उल्लेख गर्नुभयो । जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ ।

 

असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो । आयोगको म्याद यही पुस ९ गते सकिँदै छ ।