उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

२०८२ पौष २ बुधबार १९:०५:०० मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको टनकपुर मूल नहरको स्थलगत निरीक्षण गर्न कञ्चनपुर पुग्नु भएका मन्त्री घिसिङलाई उद्योग वाणिज्य सङ्घले विभिन्न मागहरू राख्दै ज्ञापन पत्र बुझाएको हो ।

 

ज्ञापन पत्र बुझाउँदै कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले हाल विद्युत् प्राधिकरणले लिँदै आएको उद्योगहरूको डिमान्ड शुल्क धेरै भएकाले सो लाई घटाउन सम्बन्धित निकायलाई निर्देशन दिन आग्रह गर्नुभयो । विद्युत् महसुलमा तोकिएको ७ दिनभित्र महसुल नबुझाए धेरै पेनल्टी बाँकी रहने हुँदा सोलाई घटाउनुपर्ने, ७ दिनको समयावधिलाई एक महिनासम्म तिर्नुपर्ने व्यवस्था लागु गरिनु पर्ने माग सहित ज्ञापन पत्र बुझाएका छन् ।