गण्डकी साकोसको निःशुल्क आँखा तथा स्वास्थ्य शिविर, ३ सय ७१ जना लाभान्वित
गैंडाकोट । गैंडाकोटमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा तथा नेपाल नेत्रज्योती संघ, भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग र गैंडाकोट नगरपालिका-१४ नं. वडा कार्यालयको सहकार्यमा मंगलबार भएको शिविरमा ३ सय ७१ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।
तीमध्ये २ सय २१ जनाले आँखासम्बन्धी सेवा प्राप्त गरेका छन् । आँखाको परीक्षण गराएकामध्ये १६ जनामा मोतियाबिन्दुको समस्या देखिएको र उनीहरुलाई अप्रेशनका लागि भरतपुर आँखा अस्पताल पठाइएको गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गोविन्द सुवेदीले जानकारी दिनुभयो । शिविरमा सहभागीमध्ये १ सय ५० जनालाई निःशुल्क औषधी वितरण गरिएको थियो ।
पछिल्ला समयमा मानिसहरुमा स्वास्थ्य समस्या बढ्दै गएको र आँखा अत्यन्त संवेदनशील अंग भएकाले समुदायको हितलाई मध्यनजर गर्दै यस्तो कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
गैंडाकोट नगरपालिका-१४ का वडा अध्यक्ष कोकिसरा रानामगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भरतपुर सरकारी अस्पतालका डा. रोशन सुवेदीको नेतृत्वमा स्वास्थ्य परीक्षण गरिएको थियो भने आँखासम्बन्धी सेवा भरतपुर आँखा अस्पतालको टोलीले प्रदान गरेको थियो ।