गैंडाकोटमा महिलाका लागि मखमलि सिर्जना तथा सिप विकास तालिम सम्पन्न
गैंडाकोट । नेवाः मिसा दबू गैंडाकोट नगरसमितिको आयोजनामा तथा गैंडाकोट नगरपालिकाको सह-आयोजनामा शनिबारदेखि सुरु भएको महिलाहरुका लागि मखमलि सिर्जना तथा सिप विकास तालिम सोमबार सम्पन्न भएको छ ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा प्रशिक्षार्थी महिलाहरुलाई विवाह, व्रतबन्ध, पास्नी लगायतका धार्मिक तथा सामाजिक कार्यक्रममा प्रयोग हुने सायापाटा सामग्रीहरू-नरिवल, सुपारी, किस्ती, डालो, छाता, ठेकीलगायतमा जडी तथा मखमली सितालाको प्रयोग गरी सजावट गर्ने सिप सिकाइएको प्रशिक्षक गोमा अमगाईले जानकारी दिनुभयो । प्रशिक्षक अमगाईले सिप सबैका लागि आवश्यक भए पनि विशेषगरी महिला दिदीबहिनीहरुले घरधन्दामा मात्र सीमित नरही यस्ता सिप सिकेर व्यवसायिक रूपमा अघि बढेमा घरमै बसेर फुर्सदको समयमा आयआर्जन गर्न सक्ने अवसर प्राप्त हुने बताउनुभयो ।

समापन कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले तीन दिनको अवधिमा सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवसायिक रूपमा रूपान्तरण गर्न आग्रह गर्नुभयो। उहाँले तालिमपछि पनि निरन्तर अभ्यास गर्न सके यसले राम्रो व्यवसायिक गति लिन सक्ने विश्वास व्यक्त गर्नुभयो। उपप्रमुख कोइरालाले नेवाः मिसा दबूले नेवारी महिलाहरुलाई मात्र नभई सबै जातजातिका महिलाहरुलाई समेट्दै सिपमूलक तालिम प्रदान गर्दै आएको उल्लेख गर्दै नगरपालिकाले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
स्थानीय महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिम उपयोगी बनेको प्रशिक्षार्थीहरुले बताएका छन् । उनीहरुका अनुसार नेवाः मिसा दबूले यसअघि उद्घोषण, धूप बनाउने, साबुन बनाउने लगायत विभिन्न क्षमता विकासका तालिमहरु दिइसकेको र यसपटक मखमली सामग्री सजावटको सिप सिक्न पाउँदा खुशी लागेको बताएका छन् । छोटो समय भए पनि तीन दिनको तालिमले आत्मविश्वास बढाउनुका साथै आयआर्जनको सम्भावना देखाएको उनीहरुको भनाइ छ । एक पटक सिकेको सिप जीवनभर काम लाग्ने भएकाले यसलाई निरन्तरता दिँदै व्यवसायमा रूपान्तरण गर्ने उनीहरुले प्रतिबद्धता जनाएका छन् ।

पहिले नेवार समुदायमा मात्र प्रख्यात रहेको सायापाटा सजावट अहिले अन्य समुदायमा पनि प्रचलित बन्दै गएको नेवाः मिसा दबू गैंडाकोट नगरसमितिकी अध्यक्ष सिता श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले सबै महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएको र यसपटकको मखमली सिर्जनाको तालिममा सहभागी महिलाहरुले नरिवल, सुपारी, किस्ती, डालो, छाता र ठेकीलाई आकर्षक रूपमा सजाउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।

गैंडाकोट-२ स्थित नारायणी नवदुर्गा भवानी मन्दिर परिसर, नारायणी नदी किनारमा सञ्चालन भएको तालिममा ४० जना महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नेवाः मिसा दबू गैंडाकोट नगरसमितिका सचिव शर्मिला श्रेष्ठले गर्नुभएको थियो ।
