चौथो गैँडाकोट महोत्सव: धमाधम स्टल निर्माण हुँदै 

२०८२ पौष २२ मंगलबार १४:४९:०० मा प्रकाशित

गैँडाकोट । चौथो गैँडाकोट महोत्सवको मिति नजिकिएसँगै महोत्सव स्थल नारायणी नदी किनारमा धमाधम स्टल निर्माणको काम भइरहेको छ । जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट, नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को आयोजनामा गैँडाकोट-२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवको तयारीस्वरुप स्टल निर्माणको काम धमाधम भइरहेको आयोजकले जनाएको छ । 


संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक छवि कँडेलकाअनुसार गैँडाकोट महोत्सव एवम् व्यापार मेला २०८२ को मूल गेट निर्माण भइसकेको छ । महोत्सवको प्रवेशद्वारमा मौलाकालिका मन्दिरको गेटको आकार निर्माण गरि धार्मिक पर्यटकीय गन्तव्यको आधार तयार पारिएको कँडेलले जानकारी दिनुभयो । महोत्सव स्थलमा स्टलसँगै बाल उद्यान र जलपरी तथा माछाको टनेल निर्माणको काम तीव्रगतिमा अगाडि बढेको कँडेलको भनाइ छ । 


महोत्सव मूल आयोजक समिति महोत्सवलाई सभ्य र भव्य रुपमा सम्पन्न पार्नका लागि लागि परेको कँडेलले बताउनुभयो । महोत्सव स्थल नारायणी नदी किनारलाई सुरक्षित बनाउन बार्ने तथा सिसी क्यामेरा जडान गर्ने काम अगाडि बढेको उहाँको भनाइ छ । महोत्सवलाई सुरक्षित बनाउनका लागि आन्तरिक र बाह्य सुरक्षा प्रबन्ध मिलाइएको कँडेलले बताउनुभयो । 


महोत्सवलाई सुरक्षित पार्नका लागि सुरक्षासमितिसँग बैठक बसी समन्वय गरिएको संघका सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार इलाका प्रहरी कार्यालय गैँडाकोट तथा सशस्त्र प्रहरी बल पितौजीसँग महोत्सवको बाह्य सुरक्षाका लागि छलफल भएको भन्दै महोत्सवलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने गरी आयोजक लागेको छ । त्यस्तै, महोत्सवको कृषि परिसरलाई आकर्षक बनाउने गरी कृषि समितिसँग छलफल गरी काम अगाडि बढाइएको सापकोटाको भनाइ छ । 


महोत्सवको सचिवालय संयोजक एवम् संघका महासचिव तेजनारायण पाण्डेले आफूहरु महोत्सवको आन्तरिक तयारीमा लागेको बताउनुभएको छ । महोत्सवको उद्घाटनका दिन निकालिने शोभायात्रालाई सफल बनाउन स्टेरिङ समितिसँगै विभिन्न संघसंस्थासँग छलफल अगाडि बढाइएको उहाँको भनाइ छ । महोत्सवको सुरक्षा र व्यवस्थापनलाई ध्यान दिँदै महोत्सव स्थलमा सिसिटिभी क्यामेराबाट निगरानी, एम्बुलेन्स, प्राथमिक उपचार, मिडिया सेन्टर, पार्किङ तथा स्वच्छता व्यवस्थापन रहने पाण्डेले जानकारी दिनुभयो । 


महोत्सवमा रेष्टुरेन्ट, बाल उद्यान, जलपरी तथा फिस टनेल, ओपेरा हाउस, उद्योग तथा वाणिज्य, अटोलगायत छुट्टाछुट्टै परिसर रहने बताइएको छ । यसपालिको महोत्सवस्थल फरक शैलीमा निर्माण गरिएको छ । महोत्सवको प्रदर्शनी कक्षलाई पेगोडा शैलीमा तयार पारिएको भन्दै फरक शैलीको स्टल भएको समेत आयोजकले जनाएको छ । महोत्सव यही पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुँदैछ ।