ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट ११ को अध्यक्षमा पुनः भानुभक्त अधिकारी चयन
गैंडाकोट । ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट ११ को साधारण सभा तथा दोस्रो अधिवेशन मंगलबार गैंडाकोट ११ स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष भानुभक्त अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गोविन्दप्रसाद सुवेदी रहनुभएको थियो । उहाँले ज्येष्ठ नागरिक राष्ट्रका गहना रहेको हुँदा उहाँको सम्मान र हेरचाहमा सबै सधै लागी पर्नुपर्ने बताउनुभयो । वडाध्यक्ष सुवेदीले ज्येष्ठ नागरिकको सहयोगका लागी वडाले सधैँ सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धधता जनाउनुभयो । उहाँले सरकारले समेत ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ज्येष्ठ नागरिक नगर संघ कोषाध्यक्ष चन्द्रदत्त जैशी, ज्येष्ठ नागरिक नगर संघ अध्यक्ष मुक्तिनाथ न्यौपाने, जनप्रतिनिधि गुरुप्रसाद पौडेलले कार्यक्रममाथि प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।
निर्वाचन मण्डलका संयोजक कृष्णप्रसाद पराजुलीले पुनः भानुभक्त अधिकारीको अध्यक्षतामा ११ सदस्यीय ज्येष्ठ नागरिक वडा संघ गठन गरेको छ । संघका नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा तुला गौतम, सचिव प्रेमप्रसाद कंडेल, कोषाध्यक्ष प्रमोद न्यौपाने, सहसचिव रामप्रसाद भट्टराई रहनुभएको छ । समितिको सदस्यहरूमा पदमा शर्मा भुसाल, दुर्गाप्रसाद सापकोटा, इन्द्रलाल महत्तो, खिमानन्द कंडेल, राधिका लामिछाने, भोजलाल तिवारी रहनुभएको छ ।
त्यसैगरी, नगर प्रतिनिधिमा खिलेश्वरी धिताल, घिरिप्रसाद कंडेल र टिका कंडेल रहनुभएको छ । यस अघि सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष तुला गौतमले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव खिलेश्वरी धितालले गर्नुभएको थियो ।
ज्येष्ठ नागरिक संघ गैंडाकोट नगर अध्यक्ष मुक्तिनाथ न्यौपानेले माघभित्र नगरभित्रका सबै वडामा ज्येष्ठ नागरिक संघ गठन गरिसक्ने जानकारी समेत दिनुभएको छ । कार्यक्रममा वडाभित्रका ८५ जना ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो ।