आपसी झगडाले त्यतिबेला शशांक आएका थिए, अहिले बिरासत जाने काँग्रेसभित्र डर

२०८२ माघ ८ बिहीबार १०:१३:०० मा प्रकाशित

 

नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. १ को रोइलो नयाँ होइन, पुरानै संस्कृति हो । एकअर्काको अस्तित्व स्वीकार्न नसकेकै कारण विगत २० वर्ष नवलपुर क्षेत्र नं. १ ले स्थानीय नेतृत्व पाएन । वि.स. २०६४ सालमा पनि डा. शंशाक कोइराला त्यसै आएका थिएनन् । काँग्रेस नवलपुरको घरभित्रको झगडा नमिलेपछि डा. शंशाकले नवलपुरमा पाइला राखेका थिए । अहिले पनि काँग्रेसभित्रको किचलोले डा. शंशाक त आउँदैनन् तर विरासत नै नरहने हो की भन्ने डर नेपाली काँग्रेसका कार्यकर्तामा रहेको छ । 

संविधान सभाको निर्वाचनका लागि नवलपुर क्षेत्र नं. १ मा तत्कालिन समयमा परासीका कृष्णचन्द्र नेपाली, मुकुन्दपुरका गजेन्द्र बहादुर आले, गैँडाकोटका तिलकप्रसाद सापकोटा, पूर्व सांसद दामोदर बस्ताकोटी, अमरापुरीका पुष्पराज पौडेल, दिव्यपुरीका भानुभक्त सिग्देल, गैँडाकोटका मदनभक्त अधिकारी, रजहरका महेन्द्रध्वज जिशी, मुकुन्दपुरका हरिराज गौतम र शारदा ढकालको नाम चर्चामा थियो । तत्कालिन क्षेत्रीय समितिका सभापति पुष्पराज पौड्यालको सभापतित्वमा बसेको बैठकले यि नामहरु अघि सारेको थियो । स्थानीय स्तरमा यी नामहरुमा सर्वसहमति जुट्न नसकेपछि केन्द्रबाट विपी पुत्रले नवलपुरमा इन्ट्रि मारेका थिए । त्यसपछि विपी पुत्र चारपटकसम्म यस क्षेत्रमा विजेता बने । कसैले पनि विपि पुत्रलाई रोक्न सकेनन् । यस पटक भने जिल्ला तहका केही पक्षले नचाहेकै कारण डा. शंशाक नवलपुर फर्किनन् सकेनन् । उनको राजनीतिक करियरमा विश्राम लागेको छ । तत्कालिन समयमा आफूहरु आपसमा मिल्न नसकेको आत्मग्लानी नेताहरुमा विगतमा नभएको होइन । प्रकट गर्ने हिम्मत कसैसँग थिएन । अहिले जेन्जी मुभमेन्ट पछिको परिस्थिति बद्लियो । यहि परिस्थितिले नेपाली काँग्रेसमा गगन विश्वहरुले विद्रोह गरे । यो विद्रोहको प्रभाव नवलपुर काँग्रेसमा पनि परेको छ । विद्रोह सजिलो छ, सहकार्य जटिल छ भन्ने कुरा नवलपुर क्षेत्र नं. १ को काँग्रेसलाई हेर्दा सहजै जसले पनि अनुमान लगाउन सक्दछ । 


फागुन २१ गतेको निर्वाचनमा नवलपुर काँग्रेसले आफ्नो माहोल विगार्दै गएको छ । एक अर्कालाई स्वीकार्न नसक्ने रोग काँग्रेसमा फर्किएको छ । डा. शशांकलाई जिल्लामा नआउ भन्दै गर्दा, सर्वसम्मत उम्मेद्वार चयन गर्न सक्ने कुटिलता नेपाली काँग्रेसले देखाउन सक्नुपर्दथ्यो । नेपाली काँग्रेसका स्थानीय तहका अधिकांश नेताहरुले माघ ५ गते बेलुका नवलपुर क्षेत्र नं. १ मा प्रतिनिधि सभाका उम्मेद्वार गजेन्द्रबहादुर आले र क्षेत्र नं. २ मा विष्णु लामिछानेलाई बधाई तथा शुभकामना दिए । क्षेत्र नं. २ मा ओम थापाले टिकट पाए ।विहान कतिपयले पोष्ट वन्ली मि गरे । 
अन्ततः माघ ६ गतेको मनोनयको दिन नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. १ मा गजेन्द्रबहादुर आले र बालकृष्ण घिमिरे दुबैले उम्मेद्वारी दिएका छन् । दुबैको टिकटमा केन्द्रीय सभापति गगनकुमार थापाको हस्ताक्षर छ । एउटै पदमा दुबैजनाको उम्मेद्वारी रहँदैन । माघ ९ गते उम्मेद्वारी फिर्ताको समय रहेको छ । नेपाली काँग्रेसको जिल्ला तह छलफलमा रहेको बताइन्छ । कतिपय केन्द्रले जसलाई आधिकारिक भन्छ उही आधिकारिक उम्मेद्वार हो भनेका छन् । नेपाली काँग्रेसले विगतमा सधैँ  जित्दै आएको क्षेत्र काँग्रेसका लागि विरासत जोगाउने लँडाइ पनि हो । 


सर्वसम्मतरुपमा एकजना उम्मेद्वार चयनका लागि कोही पछि हट्नै पर्दछ । पछि नहट्दा वि.सं. २०६४ सालमा डा. शंशाक कोइराला आएर स्थानीय नेतृत्वलाई १८ वर्षसम्म ब्रेक लगाइदिए । आपसी सद्भाव काँग्रेसमा देखिएन भने राष्ट्रिय स्वतन्त्र पार्टी विरासत् तोड्न कम्मर कसेर बसेको छ । २०७९ को निर्वाचनमा डा. शंशाकलाई कडा चुनौती दिएका रास्वपाका उम्मेद्वार राजन गौतम यसपटक पनि काँग्रेस उम्मेद्वारका लागि चुनौतीका रुपमा देखिन्छन् ।  


नेपाली काँग्रेसले कुनै समय उम्मेद्वार टुङ्याउन प्रि इलेक्सन गरेको गैँडाकोट काँग्रेसको इतिहास छ । २०५४ सालमा गैँडाकोट गाविसको अध्यक्ष उपाध्यक्षको निर्वाचन थियो । निर्वाचनको प्रि इलेक्सनका बारेमा तिलक सापकोटाको पुस्तक यात्रा निरन्तरमा लेखिएको छ “आज गैँडाकोट गाविसको आगामी निर्वाचनकालमा अध्यक्ष, उपाध्यक्षको चयन गर्ने कार्यक्रम भएको हुँदा ११ बजेदेखि विजय युवा क्लबको चेतनागृहमा क्रियाशील कार्यकर्ताहरुको भेला बोलाइएको थियो । उम्मेद्वार हुने व्यक्तिका लागि नामहरु फटाफट आउन थाले । अध्यक्ष उपाध्यक्ष पदमा छनोट गर्नका लागि २ सय ७२ जनाले भोट खसालेका थिए । यसपछि गाविस अध्यक्षमा ओम सापकोटा र उपाध्यक्षमा टोलनाथ घिमिरेलाई अघि सार्ने निर्णय गरेको थियो  ।  


अहिले पनि सर्वसम्मत उम्मेद्वार चयनको बाटो खुल्न नसके नवलपुर क्षेत्र नं. १ को काँग्रेसले प्रि इलेक्सनको अभ्यास गर्न सक्दछ । क्षेत्र नं. १ भित्रका विभिन्न वडाका वडा सभापतिहरुले मतदान गरेर टुुङ्गोमा जान सक्ने हो भने यसले नेपाली काँग्रेसभित्रको हल समाधान गर्न सक्दछ । घरभित्रको किचलो राखेर निर्वाचनमा होमिएको नेपाली काँग्रेसले यसपटक विरासत जोगाउन सक्ने छैन । व्यक्तिगत राजन गौतमको प्रभाव भन्दा पनि रवि बालेनको प्रभाव रहेको रास्वपा मुख्य प्रतिष्पर्धी हुनेछ । नेकपा एमालेका उम्मेद्वार भागिरथ सापकोटाको व्यक्तित्वको प्रभाव त्यति स्थानीय स्तरमा नभएपनि पार्टीको मत कति होल्ड गर्न सक्दछन् भन्ने मुख्य कुरा बनेको छ ।