गैंडाकोट नगरपालिकामा चैत्र १ गतेदेखि ५ गतेसम्म जापानीज इन्सेफलाइटिस विरुद्धको खोप लगाईने
गैडाकोट । गैंडाकोट नगरपालिकामा ३५ वर्षदेखि माथिका व्यक्तिहरूलाई जापानीज इन्सेफलाइटिस विरुद्धको खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।
बुधवार नगरपालिकाको सभाहलमा भएको खोप सम्बन्धि अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका १ देखि १८ वटा वडाका करिब ३२ हजार ८ सय ५ जनालाई खोप दिन लागिएको जानकारी गराईएको थियो ।
चैत्र १ गतेदेखि ५ गतेसम्म खोप कार्यक्रम हुने गैंडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । शाखा प्रमुख पौडेलले जापानीज इन्सेफलाइटिस विरुद्धको खोप ढुक्कसँग लगाउन सबैलाई आग्रह गर्नुभयो ।
गैडाकोट नगरपालिकाका प्रत्येक स्वास्थ्य संस्थामा खोप अभियान सञ्चालन हुने र ३५ बर्ष भन्दा माथि उमेरका सबैले खोप लगाउन सकिने गैंडाकोट नगरपालिका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले जानकारी दिनुभयो । खोपका लागी नगरपालिका भित्र ७ हजार २ सय ८३ भाइल खोप आइपुगेको जनस्वास्थ्य निरीक्षक आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रादेशिक जनस्वास्थ्य केन्द्र कास्की पोखराका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले इन्सेफलाइटिस विरुद्धको खोपको बारेमा स्पष्ट पार्नुभयो।
नवलपुर जिल्लाका ८ वटै स्थानीय तहमा एकैसाथ अभियान सुरु गरी करिब १ लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखेको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख केशब चापागाईंले बताउनुभयो । कार्यालय प्रमुख चापागाईंले भन्नुभयो “ यो खोप जीवनमा एक पटक लगाएपछि जीवनभरका लागि काम गर्ने भएकाले सबै ३५ वर्ष माथिका नागरिकलाई सहभागी हुन म आग्रह गर्दछु ।”
जापानीज इन्सेफ्लाईटिस संक्रमित बंगुर तथा हाँस लगायतका पंक्षिलाई टोकेर संक्रमित भएको लामखुट्टेले मानिसलाई टोक्दा रोग सर्ने जनस्वास्थ्य अधिकृत प्रबिणकुमार खनालको भनाई रहेको छ । जनस्वास्थ्य अधिकृत खनालले भन्नुभयो" यो रोग मान्छे बाट मान्छेमा भने सर्दैन , यो रोग विशेष गरी बंगुर पालन, हाँस पालन भएका र धान रोपाइँ बढी हुने क्षेत्रमा छिटो फैलने सम्भावना रहने छ। हामीले जोखिम न्यूनीकरणका लागि यो खोप अभियानलाई प्राथमिकतामा राखेका हौँ। "
नगरपालिकाले सम्बन्धित सबै नागरिकलाई आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई खोप सेवा लिन समेत आग्रह गरेको छ । एक पटक खोप लगाएपछि यसले दीर्घकालीन सुरक्षा दिने भएकाले चैत्र १ गते देखि चैत्र ५ गतेसम्म सञ्चालन हुने शिविरमा पुगेर खोप लगाउन स्वास्थ्य शाखा गैंडाकोटले अनुरोध गरेको छ । खोप लगाउन जादा २०४७ साल फागुन मसान्तसम्म जन्ममिति भएका व्यक्तिहरूले उमेर खुल्ने प्रमाणपत्र अनिवार्य रूपमा साथमा लिएर जानुपर्ने जनाएको छ।
कार्यक्रमको सहजीकरण जनस्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन दिल्लीराम तिवारीले गर्नुभएको थियो।