गैंडाकोटमा भोलीदेखि आधारभूत तहको नगरस्तरीय अन्तिम परीक्षा सुरु
नवलपुर । आधारभूत तह (कक्षा ८) र कक्षा ५ को नगरस्तरीय अन्तिम परीक्षा गैंडाकोटमा आइतबार बिहान ८ बजेदेखि सञ्चालन हुँदैछ ।
गैंडाकोट नगरपालिकामा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको शिक्षा अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक सबै व्यवस्थापन पूरा भइसकेको छ भने यही चैत्र ६ गते केन्द्राध्यक्षहरुलाई अभिमुखीकरणसमेत गराइसकिएको छ ।
यस वर्ष गैंडाकोट नगरपालिकामा कक्षा ८ तर्फ ८ सय ८ छात्र र ७ सय ३५ छात्रा गरी कुल १ हजार ५ सय ४३ विद्यार्थी सहभागी हुने भएका छन् । प्रतिशतका आधारमा छात्र ५२ दशमलव ४ र छात्रा ४७ दशमलव ६ प्रतिशत रहेका छन् ।
परीक्षामा १९ वटा सामुदायिक, १६ वटा संस्थागत र ४ वटा धार्मिक विद्यालय गरी जम्मा ३९ विद्यालयको सहभागिता रहनेछ । जसमध्ये सामुदायिक विद्यालयबाट ९ सय २९ र संस्थागत विद्यालयबाट ६ सय १४ विद्यार्थी सहभागी हुने जनाइएको छ ।
त्यस्तै, कक्षा ५ तर्फ ४७ वटा विद्यालयबाट १ हजार ६ सय १६ विद्यार्थी परीक्षा दिँदैछन् । जसमध्ये ८ सय ३३ छात्र र ७ सय ८३ छात्रा रहेका छन् । यसमा २९ वटा सामुदायिक र १८ वटा संस्थागत विद्यालयको सहभागिता रहनेछ ।
कक्षा ८ को परीक्षा ९ वटा परीक्षा केन्द्रमार्फत सञ्चालन हुने बताइएको छ । नगरपालिकाले अभिमुखीकरणकै दिन केन्द्राध्यक्षसमेत तोकेको जनाएको छ । शिक्षा अधिकृत अधिकारीले परीक्षा निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन गर्न तथा विद्यार्थीलाई शान्त र अनुशासित वातावरणमा ढुक्कसँग परीक्षा दिन आग्रह गर्नुभएको छ ।
यता, कावासोती नगरपालिकामा पनि आधारभूत तह उत्तीर्ण परीक्षाको सम्पूर्ण तयारी पूरा भएको नगर शिक्षा अधिकारी हेमचन्द्र पौडेलले जानकारी दिनुभएको छ । उहाँले परीक्षा मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न सबै सरोकारवालासँग सहयोगको अपिल गर्नुभएको छ भने विद्यार्थीहरुलाई ढुक्क भएर परीक्षा दिन आग्रह गर्नुभएको छ ।