त्रिनेत्र साकोसको ३४ औँ वार्षिक साधारण सभा सम्पन्न / ४७ जना सेयर सदस्य विभिन्न विधाबाट पुरस्कृत
गैँडाकोट । त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३४ औं वार्षिक साधारण सभा गरेको छ । गैंडाकोट ५ स्थित संस्थाको परिसरमा सम्पन्न साधारण सभामा विभिन्न १० विधाबाट ४७ जना सेयर सदस्यलाई पुरस्कृत गरेको छ।
गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले सहकारीे नीति र विधि अनुसार अगाडी बढेको बताउनुभयो । नगर प्रमुख अधिकारीले संस्थालाई अगाडि बढाउनको लागि मुख्य भूमिका सदस्यको हुने भएकोले चनाखो भएर सदस्यहरूले अनुगमन गर्नुपर्ने बताउनुभयो। उहाँले गैंडाकोट नगरपालिका अन्तर्गत सहकारीको अवस्था अहिलेसम्म राम्रो रहेको बताउनुभयो।
त्रिनेत्र बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष शंकरनाथ आचार्यलेले संस्थालाई प्रविधिमैत्री बनाउने, नीतिहरूको समय अनुसार परिमार्जन , सेयर सदस्य संख्या वृद्धि ,ऋण असुलीमा प्रभावकारि लगायतका माध्यमबाट गुणस्तरीय सेवा दिने गरी अगाडि बढेको बताउनुभयो। कार्यवाहक अध्यक्ष आचार्यले सेयर सदस्य नै संस्थाका खम्बा हुन् भन्ने कुरालाई ध्यानमा राखी सदस्यहरुले गरेको लगानीको उच्च प्रतिफल दिने काम गरिरहेको बताउनुभयो। आचार्यले संस्थाले सधैं सदस्यहरूको हकहितका लागि काम गर्दै र विधि विधान र नीति नियम अनुसार अगाडि बढ्ने पनि बताउनुभयो।
संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वर्षका लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्दै सचिव दोलराज पाण्डेले एकका लागि सबै र सबैका लागि एक भन्ने मूल भावनालाई आत्मसाथ गरी ५४ जना सदस्यहरूबाट मासिक रु. १०० बचत गरी सुरुवात भएको संस्था सदस्यको साथबाट यहाँसम्म आएको बताउनुभयो। सचिव पाण्डेले आय आर्जन कृषि तथा रोजगार सिर्जना हुने प्रकारका ऋण मागको अध्ययन गरी पहिलो प्राथमिकतामा राखी ऋण प्रदान गरिने बताउनुभयो। उहाँले संस्थाका हरेक गतिविधिमा सेयर सदस्यहरूको सहभागिता वृद्धि गर्ने योजना रहेको बताउनुभयो। सचिव पाण्डेले आगामी दिनमा सेयर सदस्यहरूको आर्थिक ,सामाजिक ,वातावरणीय तथा स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग पुग्ने खालका कार्यक्रमहरू पनि सञ्चालन गरिने बताउनुभयो।

कोषाध्यक्ष विपिनभक्त अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दैे संस्थामा अहिले ३ करोड ९८ लाख २१ हजार ९ सय सेयर पूँजी रहेको बताउनुभयो । कोषाध्यक्ष अधिकारीले संस्थाले १ करोड ३१ लाख ९४ हजार ५ सय मुनाफा रहेको बताउनुभयो ।
कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक मुरारी भुसालले संस्थाका सबल पक्षको प्रशंसा गर्दै सुझाव दिनुभएको छ। संयोजक भुसालले समय सापेक्ष संस्था सञ्चालनलाई प्रविधिको उच्चतम प्रयोग गर्न जोड दिनुभयो त्यस्तै उहाँले निस्कृय सदस्यलाई सक्रिय बनाउन पहल गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा सहकारी समन्वय मञ्च गैँडाकोटका अध्यक्ष बाबुराम खनाल, सस्थाका संस्थापक अध्यक्ष एवम् शैक्षिक व्यक्ति चुडामणी कंडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू चोलनाथ उपाध्याय, विष्णु सापकोटा, नारायण पौडेल, ज्ञानेन्द्र सापकोटा, गैडाकोट वडा नम्वर ५ का जनप्रतिनिधिहरु तुलसी गौतम, उषा परियार, संस्थाका कार्यसमिति लगायत समाजसेवी, बुद्धिजीवी व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव दोलराज पाण्डेले गर्नुभएको थियो।

तत्कालीन त्रिनेत्र युवा क्लबका सदस्यहरूले विसं २०५० सालमा स्थापना गरी २०५२ साल पौषमा तत्कालीन जिल्ला सहकारी कार्यालय नवलपरासीमा दर्ता गरेपश्चात त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विधिवत रुपमा सुरुवात भएको थियो। विगत ३३ वर्षदेखि बचत तथा ऋणको कारोबार गर्दै संस्थाका सेयर सदस्यहरूको आर्थिक एवं सामाजिक विकासमा सहयोगीको रुपमा काम गर्दै आइरहेको सस्थाका कार्यलय प्रमुख प्रद्मुम्न ढुंगानाले जानकारी दिनुभयो । कार्यलय प्रमुख ढुंगानाका अनुसार संस्थामा अहिले २ हजार ३१ जना सेयर सदस्यहरू रहेका छन्।