खाना पकाउने ग्यासको अभाव, बजारमा बढ्न थाल्यो विद्युतीय चुलोको कारोबार
काठमाडौँ । पछिल्लो समय पश्चिम एशियाली राष्ट्रहरूमा युद्धका कारण विकसित भएको तनाव र पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि उपभोक्ताहरू क्रमशः विद्युतीय चुलोतर्फ आकर्षित हुन थालेका छन् ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो आठ महिना (साउनदेखि फागुन मसान्तसम्म) मा नेपालमा विभिन्न प्रकारका १ लाख ४७ हजार ८ सय ६४ वटा विद्युतीय चुलो आयात भएका छन् । यीमध्ये सबैभन्दा बढी माग इन्डक्सन चुलोमा देखिएको छ। उक्त अवधिमा १ लाख ४ हजार ७ सय १७ वटा इन्डक्सन चुलो नेपाल भित्रिएको छ भने ४२ हजार २ सय १८ वटा इन्फ्रारेड चुलो आयात गरिएको छ ।
इन्डक्सन र इन्फ्रारेडबाहेक अन्य प्रकारका विद्युतीय चुलो भने जम्मा ९ सय २९ वटा मात्र आयात भएका छन् । आठ महिनाको अवधिमा आयात भएका चुलोको कुल मूल्य ३० करोड ४१ लाख १२ हजार रुपैयाँ पुगेको छ। यसमध्ये इन्डक्सन चुलोको मात्र मूल्य २२ करोड २७ लाख ४ हजार रुपैयाँ रहेको छ भने इन्फ्रारेड चुलोको मूल्य ७ करोड ६७ लाख ७ हजार रुपैयाँ रहेको छ ।