नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैनः डा.देवकोटा

२०८२ चैत १० मंगलबार १४:३१:०० मा प्रकाशित

काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकास देवकोटाले नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामी अझै पहिचान हुन नसकेको बताउनुभएको छ । मंगलबार विश्व क्षयरोग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव देवकोटाले क्षयरोग उपचार गरेर निको पार्न सकिने रोग भए पनि विभिन्न कारणले अझै प्रभावकारी रूपमा पहिचान र उपचारको दायरा विस्तार गर्न नसकिएको उल्लेख गर्नुभयो ।


देवकोटाका अनुसार नेपालमा वार्षिक करिब ६९-७० हजार क्षयरोगी अनुमान गरिए पनि तीमध्ये झण्डै ४५ प्रतिशत बिरामी अझै पहिचान बाहिर छन् । बिरामी पहिचानका लागि विभिन्न नयाँ विधि अपनाइएको उल्लेख गर्दै उहाँले घरघरमै पुग्ने कार्यक्रम (हाउसहोल्ड सर्वे) सञ्चालनमा रहेको जानकारी दिनुभयो । त्यसैगरी, छिटो र प्रभावकारी पहिचानका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरी एक्स-रे परीक्षणलाई समेत विस्तार गरिएको उहाँले बताउनुभयो। यसका लागि आवश्यक बजेटसमेत उपलब्ध रहेको र यसै वर्षदेखि कार्यक्रमलाई तीव्र रूपमा अघि बढाइने सचिव देवकोटाको भनाइ छ ।