मुलुकमा सुशासन कायम गर्न सरकारसँग सहकार्य गर्छौँ  ः सभापति थापा

२०८२ चैत १० मंगलबार १६:०३:०० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले २०४५ सालयता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्नुपर्ने आफूहरूको मुख्य माग रहने पनि बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि उच्चस्तरीय छानबिन गर्न अब गठन हुने सरकारसँग प्रस्ताव गर्ने जानकारी दिनुभयो ।

नयाँ सरकारसँग सुशासनका सन्दर्भमा ठुलो नागरिक अपेक्षा रहेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारका फाइल खोल्ने काम राजनीतिक खपतका लागि मात्र हुन नहुने बताउनुभयो । विगत ३५ वर्षको अवधिमा शासकीय शक्तिको दुरुपयोग भएका घटना सार्वजनिक भइरहेको भन्दै उहाँले कुनै पनि काण्ड वा भ्रष्टाचारका विषयमा कानुनसम्मत ढङ्गले अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “२०८२ देखि २०८७ सालसम्मको एउटा अध्याय सुरु भयो । यो विशेष परिस्थितिमा बनेको सरकार हो । अब बन्ने सरकारसँग सुशासनका सन्दर्भमा धेरै अपेक्षा छन् । हामी प्रतिपक्षका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका गर्छौँ । तर यसका लागि २०८२ सालअघिका कुरा पनि टुङ्ग्याउनुपर्छ । २०४५ सालयता सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ । यदि अवैध छ भने त्यो जफत गर्नुपर्छ । हामीले निर्वाचनमा जाँदा यो विषय उठाएका थियौँ । अब हाम्रो माग यही रहन्छ ।”

उहाँले भ्रष्टाचारको छानबिन र शासकीय शक्तिको दुरुपयोगको अनुसन्धानमा कांग्रेसको पूर्ण साथ रहने स्पष्ट पार्नुभयो । अबको पाँच वर्ष प्रतिपक्षका तर्फबाट कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।