पालिकाले थाल्यो राम्रो अभ्यास, ग्रेस नम्बर नदिइ परीक्षाफल प्रकाशन, सबैलाई ग्रेडबृद्धिको अवसर
नवलपरासी पूर्व । गैँडाकोटमा आधारभूत तह कक्षा ८ को परीक्षाफल प्रकाशित भइसकेको छ । यस वर्षको परीक्षाफल अघिल्लो शैक्षिक सत्रको तुलनामा सुधारोन्मुख रहेको छ । अघिल्लो शैक्षिक सत्रमा ६३ दशमलब १७ प्रतिशत विद्यार्थी कक्षा ९ का लागि योग्य भएका थिए । अहिलेको नतिजामा ४ दशमलब १० प्रतिशत बृद्धि भएको छ । अहिले ६७ दशमलब २७ प्रतिशत विद्यार्थी कक्षा ९ का लागि योग्य बनेका छन् ।
गँैडाकोट नगरपालिकाको शिक्षा शाखाले अर्को राम्रो अभ्यास थालेको छ । अहिले कुनै पनि विद्यार्थीलाई ग्रेस नम्बर प्रदान गरिएन । अहिले विद्यार्थीले प्राप्त गरेको नतिजा आफ्नै क्षमताले प्राप्त गरेको हो । ग्रेस नम्बर प्रदान गरिएको भए पालिकाको नतिजा ८० प्रतिशत भन्दा बढी देखिन्थ्यो । तर, विद्यार्थीले पुनः परीक्षा दिएर योग्य हुने पद्धतिले विद्यार्थीलाई थप आत्मबल बढाउने नगर शिक्षा अधिकृत रामप्रसाद अधिकारीले बताउनुभयो ।
ग्रेस नम्बर प्रदान नगरी परीक्षाफल प्रकाशन गरेको शिक्षा शाखाले अर्को राम्रो काम गरेको छ । यस अघिका शैक्षिक सत्रमा २ वटा वा ३ वटासम्म विषयमा अनुत्तीर्ण विद्यार्थीले ग्रेडबृद्धि परीक्षा दिने सुविधा पाउने गर्दथे । यसपटक सबै विषयमा अनुत्तीर्ण विद्यार्थीलाई पनि ग्रेडबृद्धि परीक्षाको सुविधा दिइएको नगर शिक्षा अधिकारी डा. बालकृष्ण चापागाईंले बताउनुभयो । सुधार गर्ने क्षमता राख्ने विद्यार्थीले एकवर्ष खेर फाल्नु परेन ।
विद्यार्थीहरु कति कति विषयमा अयोग्य भए
कुन ग्रेडमा कति विद्यार्थी योग्य भए
कुल विद्यार्थी मध्ये ५०५ जना अर्थात ३२ दशमलब ७३ प्रतिशत विद्यार्थी अयोग्यमा परेका छन् । जुन सबैभन्दा उच्च अनुपात हो । यसले सिकाइ उपलब्धि, मूल्याकंन प्रणाली र विद्यार्थीको तयारीमा अझ धेरै कसरत गर्नुपर्ने देखाउँछ ।
त्यसपछि ३.२ – ३.६ जिपिए समूहमा ४३९ जना विद्यार्थी रहेका छन्, जुन दोस्रो ठूलो समूह हो । यसले मध्यम स्तरको उपलब्धी हासिल गर्ने विद्यार्थीको संख्या उल्लेखनीय रहेको देखाउँछ ।
त्यस्तै ३.६ – ४ जिपिए ल्याउने विद्यार्थी २ सय ६५ जना छन् भने २.८ – ३.२ जिपिए समूहमा २८४ जना विद्यार्थी रहेका छन् । यी तथ्याकंले मध्यम र राम्रो प्रदर्शन गर्ने विद्यार्थीको हिस्सा पनि सन्तोषजनक रहेको देखाउँछ ।
उत्कृष्ट नतिजाको रुपमा मानिने ४ जिपिए ल्याउने विद्यार्थीको सख्ंया न्यून देखिएको छ । ३ जना विद्यार्थीले मात्र पूर्ण जिपिए हासिल गरेका छन् ।
न्यून ग्रेडतर्फ हेर्दा २.४ – २.८ जिपिएमा ४७ जना विद्यार्थी छन् भने २.०–२.४ जिपिएमा भने कुनै पनि विद्यार्थी छैनन् ।
विज्ञान र गणीतमा अझै सुधारको आवश्यकता
आधारभूत तह कक्षा ८ को नतिजा विश्लेषणमा गणित र विज्ञान विषय चुनौतीको विषय बनेको छ । पालिका र विद्यालयहरुले आगामी शैक्षिक सत्रमा गणित र विज्ञान विषयको सिकाईमा फरक शैक्षिक रणनीति अपनाउन आवश्यक छ । साना कक्षा देखि नै गणित र विज्ञान विषयको सिकाइ सहजीकरणलाई व्यवहारिक र प्राथकिमताका साथ अघि बढाउन सके राम्रो हुने देखिन्छ ।