परियार सेवा समाज नवलपरासी (ब.सु.पूर्व) को वृहत् जिल्ला भेला सम्पन्न

२०८२ चैत २७ शुक्रबार १९:००:०० मा प्रकाशित

गैँडाकोट । परियार सेवा समाज नवलपरासी (ब.सु.पूर्व) ले “परियार एकता आजको आवश्यकता” भन्ने मूल नारासहित शुक्रबार वृहत् जिल्ला भेला २०८२ सम्पन्न गरेको छ । कार्यक्रम गैँडाकोट-२ स्थित श्रीराम पार्टी प्यालेसमा आयोजना गरिएको हो ।


भेलाले प्रकाश परियारको अध्यक्षतामा जिल्ला कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा शुक्र परियार, सचिवमा ऋषि परियार, सहसचिवमा देव परियार र कोषाध्यक्षमा गंगा परियार निर्वाचित हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा राजु परियार, निरम शाह परियार, तारा परियार, किशोर परियार, शुसिला परियार, राजेन्द्र परियार, राजेश परियार र सपना परियार चयन हुनुभएको छ । साथै, समितिले यम परियार, रुपेश परियार, भिम परियार, सकिला परियार र उषा परियारलाई सल्लाहकारमा मनोनयन गरेको छ ।


कार्यक्रमका प्रमुख अतिथि परियार समाजका केन्द्रीय संस्थापक अध्यक्ष डि.बि. परियारले परियार समुदायलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पक्ष-विपक्षभन्दा माथि उठेर “हामी सबै एउटै हौँ” भन्ने भावना विकास गर्नुपर्ने बताउनुभयो । फरक-फरक धर्म भए पनि एउटै समुदायका रूपमा अघि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले शिक्षा, चेतना र जागरणमार्फत अधिकार प्राप्त गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।


कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वक्ताहरुले परियार समुदायको ऐतिहासिक पहिचान र योगदानको चर्चा गर्दै एकता अपरिहार्य रहेको बताए । उनीहरूले समाजलाई संगठित गर्दै अगाडि बढाउन नयाँ नेतृत्वलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।


कार्यक्रममा कलाकार सपना परियारले लोक तथा सांस्कृतिक गीत, पञ्चेबाजा र कौडा गीत प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभयो । त्यस्तै, स्वरसम्राट राजु परियारले “आमा”, “मिरमिरेको घाम”, न्याउली” लगायतका गीतहरू प्रस्तुत गर्दै माहोल तताउनुभयो ।


परियार सेवा समाजका सदस्य सकिला परियारले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सचिव ऋषिराज दर्नालले सहजीकरण गर्नुभएको थियो ।