जीइएसद्वारा एसइईमा चार जीपीए ल्याउने पन्तलाई एक लाख पुरस्कार
नवलपुर । गैँडाकोट इङ्गलिस स्कूल (जीइएस)ले एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्यालयले ४.०० जिपिए हासिल गरेकी छात्रा तेजस्वी पन्तलाई विद्यालयले पूर्वघोषणाअनुसार १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।
पन्तलाई गैँडाकोट नगरपालिका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइराला तथा विद्यालयका प्रधानाध्यापक हीरालाल अर्यालले सम्मान तथा बधाई ज्ञापन गर्नुभएको थियो ।
शनिबार भएको कार्यक्रममा नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले विद्यार्थीहरू केवल पढाइमा मात्रै अब्बल भएर नपुग्ने भन्दै नैतिकवान, जिम्मेवार र अनुशासित नागरिक बन्न आवश्यक रहेको बताउनुभयो। उहाँले असल चरित्र, सकारात्मक सोच र सामाजिक उत्तरदायित्व बोकेका विद्यार्थी उत्पादन गर्नु नै शिक्षाको मुख्य उद्देश्य भएको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिरालाल अर्यालले विद्यालयको पछिल्लो पाँच वर्षे शैक्षिक गतिविधिको समीक्षा गर्दै विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताउनुभयो । उहाँले विद्यार्थीहरूको सफलता विद्यालय, अभिभावक र शिक्षकहरूको साझा मेहनतको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा जीपीए चार ल्याउने विद्यार्थी तेजस्वी पन्तले आफ्नो नियमित पढाइसँगै शिक्षक र अभिभावकको सहकार्यले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो । अध्ययनका क्रममा पाठ घोकेरभन्दा पनि विषयवस्तुलाई राम्रोसँग बुझेर पढ्न सकेमा उत्कृष्ट नतिजा प्राप्त गर्न सकिने पन्तले बताउनुभयो ।
विद्यार्थी पन्तका पिता कृष्णप्रसाद पन्तले छोरीको सफलततामा परिवारका सबैजनाको मेहनत रहेको बताउनुभयो । छोरीलाई पढाइको दवाब दिनुभन्दा पनि नबुझेको विषयमा सहजीकरण गर्दै पढ्न सहयोग गर्दा यो नतिजा प्राप्त भएको उहाँले बताउनुभयो ।
२०८२ को एसइईको नतिजाअनुसार जिल्लाबाट १९ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । प्राविधिकसहित सामुदायिक र संस्थागत गरी जिल्लाका १ सय ४३ विद्यालयबाट पाँच हजार ६ सय ९७ विद्यार्थी एसइईमा सहभागी भएकामा चार हजार १ सय ३० जना उत्तीर्ण भएका छन् । एसइई नतिजामा जिल्लाबाट ७२ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरले जनाएको छ ।