गैंडाकोटमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर, ८५ जनाद्धारा स्वास्थ्य परिक्षण

२०८३ जेठ २ शनिबार १९:२६:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नं ८ मा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको  छ । कालिका महिला सञ्जालको आयोजनामा तथा वडा नम्बर ८ को सहयोगमा शनिबार गैंडाकोट-८ स्थित आधारभूत स्वास्थ्य इकाईमा पाठेघरको मुखको क्यान्सर जाँच, स्तन परीक्षण तथा आङ खस्ने समस्यासम्बन्धी निःशुल्क स्क्रिनिङ शिविर सञ्चालन गरिएको हो । शिविरमा ८५ जना महिलाहरुले आफ्ना समस्याका आधारमा स्वास्थ्य परीक्षण गराएका छन् । 


कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिका वडा नं ८ का वडा अध्यक्ष प्रेम सापकोटाले महिलाहरुमा देखिने यस्ता समस्यालाई लुकाउने वा लाज मान्ने प्रवृत्ति अझै रहेको उल्लेख गर्दै आफ्नै स्थानमा ल्याइएको सुविधाको सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले शिविरले अस्पतालसम्म पुग्न नसक्ने वृद्ध, विपन्न तथा सिमान्तकृत महिलालाई विशेष राहत पुग्ने बताउनुभयो । साथै, निर्धक्क भएर चिकित्सकसँग आफ्ना समस्या राखी परीक्षण गराउन समेत आग्रह गर्नुभयो ।

कालिका महिला सञ्जालकी अध्यक्ष नर्मदा शर्माले पछिल्लो समय महिलाहरुमा पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्या बढ्दो क्रममा रहेको भन्दै समयमै परीक्षण गराउनु आवश्यक रहेको बताउनुभयो । उहाँले कतिपय महिलाहरुलाई यस्ता रोग तथा परीक्षणबारे पर्याप्त जानकारी नभएको र कतिले लाजका कारण परीक्षण नगराउने गरेको उल्लेख गर्दै जनचेतना अभिवृद्धिका लागि पनि शिविर आयोजना गरिएको जानकारी दिनुभयो ।