गैँडाकोट–८ मा प्रविधिमैत्री वित्तीय साक्षरता कार्यक्रमको बारेमा छलफल तथा अनुगमन
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ८ मा मौलाकालिका सामुदायिक सिकाइ केन्द्रद्वारा सञ्चालन गरिएको प्रविधिमैत्री वित्तीय साक्षरता कार्यक्रमको बारेमा छलफल तथा अनुगमन गरिएको छ। विगत २ महिनादेखि सञ्चालनमा रहेको वित्तीय साक्षरता कार्यक्रमको अनुगमन तथा छलफल सोमबार नन्दन कालिका महिला समूह भवनको परिसरमा सम्पन्न भएको हो।
कार्यक्रममा वडा नं. ८ का अध्यक्ष प्रेम सापकोटा ले अभिभावकहरूको शिक्षाप्रति चासो बढ्दै गएको उल्लेख गर्दै आवश्यकता अनुसार अंग्रेजी शिक्षा समेत सञ्चालन गर्न वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षा शाखासँग समन्वय गरी डेस्क–बेन्चको व्यवस्था गरिदिने आश्वासन दिँदै औँठाछापको अन्त्य गरी सबैलाई आफ्नै हस्ताक्षर गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो। साथै, उहाँले सबै वडाका अभिभावकलाई यस्ता कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।

कार्यक्रममा गैँडाकोट नगरपालिकाका शिक्षा शाखा अधिकृत रामप्रसाद अधिकारी ले सिकाइले अभिभावकहरूको व्यवहारिक जीवन सहज बनाउने बताउनुभयो। उहाँले वृद्धवृद्धाले आफ्नै वृद्धभत्ता सम्बन्धी जानकारी बुझ्न, हिसाब राख्न तथा वित्तीय साक्षरता हासिल गर्न यस तालिम उपयोगी हुने धारणा राख्नुभयो। शिक्षा शाखाले तयार गरेको पाठ्यक्रम र पाठ्यपुस्तकमार्फत तालिमलाई आत्मसात गर्दै व्यवहारिक शिक्षा हासिल गर्न उहाँले अभिभावकलाई अनुरोध गर्नुभयो।
मौलाकालिका सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष कमलप्रसाद पराजुली ले वर्तमान समयमा महिला शिक्षा समाज विकासको मूल आधार भएको बताउँदै यस्ता शिक्षामूलक तालिमहरू वडा नं. ८ मा सञ्चालन भइरहेका र अन्य वडामा समेत विस्तार हुँदै आएको जानकारी दिनुभयो। उहाँले शिक्षाले अभिभावकलाई व्यवहारिक तथा सक्षम बनाउने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रशिक्षार्थी भीममाया थापा मगर तथा नन्दन टोल विकास संस्थाका अध्यक्ष माधवप्रसाद आचार्यले आफ्ना मन्तव्य राख्नुभएको थियो। मौलाकालिका सामुदायिक सिकाइ केन्द्रका सदस्य निरु रिमाल ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव यममाया पुलामी मगर ले गर्नुभएको थियो।