गैंडाकोट-८ मा बाल क्लब पुनर्गठन तथा पदाधिकारी अभिमुखीकरण कार्यक्रम सम्पन्न
गैंडाकोट । “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने उद्देश्यका साथ गैंडाकोट नगरपालिका वडा नम्बर ८ अन्तर्गतका टोल तथा विद्यालयस्तरीय बाल क्लबका पदाधिकारीहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
वडा बाल सञ्जाल गैंडाकोट-८ को आयोजनामा तथा वडा कार्यालयको सहयोगमा शनिबार विजय विकास स्रोत केन्द्रको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमअन्तर्गत वडाभित्रका ११ वटा टोल र ३ वटा विद्यालय गरी कुल १४ वटा बाल क्लब पुनर्गठन गरिएको जनाइएको छ ।
कार्यक्रममा नगर बाल सञ्जालका अध्यक्ष संसार सापकोटा र बाल अधिकार अभियन्ता जगन्नाथ उपाध्यायले बाल अधिकार, नेतृत्व विकास, बाल सहभागिता तथा बालमैत्री समाज निर्माणका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
वडा बाल सञ्जाल अध्यक्ष मधुसुदन तिवारीको अध्यक्षता तथा वडा अध्यक्ष प्रेम सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष सापकोटाले बालबालिकाले तयार पारेको कार्ययोजनालाई वडामा पेश गर्न आग्रह गर्दै त्यसको कार्यान्वयनमा वडा कार्यालयको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बालमैत्री वडा निर्माणका लागि आफू सधैं प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनुराम सापकोटाले पछिल्लो समय बालबालिकामा मोबाइल प्रयोगको बढ्दो प्रभावबारे चिन्ता व्यक्त गर्दै आवश्यक कामबाहेक मोबाइलको प्रयोग कम गर्न सुझाव दिनुभयो । उहाँले बालबालिकाहरूले बाहिरी वातावरण, समाज र प्रकृतिसँग प्रत्यक्ष घुलमिल हुने अवसरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा बाल सञ्जालका उपाध्यक्ष निश्चल न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने नगर बाल सञ्जालका अध्यक्ष संसार सापकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।