नवलपुरमा शिक्षाकर्मीको संस्थागत सुदृढीकरणसम्बन्धी राष्ट्रिय कार्यशाला सुरु
नवलपुर, साउन ८
शिक्षक तथा कर्मचारीका पेशागत संस्थाहरूको “संगठन सुदृढीकरणसम्बन्धी राष्ट्रिय कार्यशाला” आजदेखि नवलपुरको अमलटारीमा सुरु भएको छ। “एसिया–प्रशान्त क्षेत्रको रूपान्तरणमा युनियनहरूको नेतृत्व” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यशालामा सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि, नीतिगत प्रभाव तथा शिक्षा क्षेत्रका युनियनहरूको भूमिकाका विषयमा विभिन्न प्रस्तुतिहरू गरिएको छ।
कार्यक्रमको शुभारम्भ संस्थागत विद्यालय शिक्षक युनियन (क्ष्क्त्ग्) का महासचिव भूपाल उप्रेतीले गर्नुभएको थियो। उहाँले कार्यशालाको उद्देश्य तथा औचित्यमाथि प्रकाश पार्दै शिक्षा क्षेत्रका युनियनहरूबीचको सहकार्य र सुदृढ संगठन निर्माणको आवश्यकतामा जोड दिनुभयो।
त्यसपश्चात् आयोजित सत्रमा संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले नवीकरणबाट शक्तितर्फ विषयमा प्रस्तुति राख्नुभएको थियो। यसैगरी संस्थागत विद्यालय शिक्षक युनियनका महासचिव भूपाल उप्रेतीले परिवर्तित परिवेशबारेमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो।
यसैगरी नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले सङ्गठनात्मक शक्तिको बुझाइ बारेमा प्रकाश पार्नुभएको थियो भने नेपाल शिक्षक सङ्घका महासचिव ज्ञानेन्द्रबहादुर रावलले सम्बन्धमार्फत शक्ति निर्माण र गठबन्धन तथा सार्वजनिक समर्थन निर्माण विषयमा आफ्ना विचार व्यक्त गर्नुभएको थियो।
यसअघि सम्पन्न औपचारिक उद्घाटन सत्रमा नेपाल शिक्षक सङ्घका अध्यक्ष सोमनाथ गिरी, नेपाल शिक्षक सङ्गठनका अध्यक्ष हंशराज शाही, नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गङ्गाराम सुबेदी तथा संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यशालामा देशभरबाट युनियनका प्रतिनिधिहरूको सहभागिता रहेको छ। कार्यक्रममा सहजकर्ताको भूमिकामा सागरनाथ प्याकुरेल र मोतीराम फुयाल रहनुभएको छ ।