नन्दन सामुदायिक वनको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न
कपाल काट्ने तथा सिलाई कटाई तालिमको समुद्घाटन
गैडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समूह गैडाकोट ६, ८ र ९ ले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत रहेर विभिन्न कार्यक्रम गरेको छ। बुधबार सापकोटा कुल मन्दिरको सभाहलमा भएको कार्यक्रममा विपन्न उपभोक्ता स्वास्थ्य बीमा, विद्युतीय चुलो वितरण, विद्यालय भौतिक पूर्वाधार निर्माण सहयोग, टोल विकास संस्था सञ्चालन सहयोग, निःशुल्क वन पैदावार वितरण सँगै कपाल काट्ने तथा सिलाई कटाई तालिमको समुद्घाटन गरिएको हो ।
कार्यक्रममा डिभिजन वन कार्यालय नवलपरासी (बसूपूर्व)का प्रमुख विष्णुप्रसाद अधिकारीले नन्दन सामुदायिक वनले सरकारको नीति नियम भित्र रहेर स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गरेका सबै कार्यक्रमहरु उपभोक्तामुखी रहेको बताउनुभयो। प्रमुख अधिकारीले समूहले गर्ने यस्ता कार्यक्रमको निरन्तरताको शुभकामना दिदै समूहले गरेका सामुदाय केन्द्रित कार्यक्रमले विपन्न परिवारको जीवनस्तर उकास्ने साझा अभियान भएको बताउनुभयो।
नन्दन सामुदायिक वन उपभोक्ता समूहका संस्थापक अध्यक्ष इन्द्रराज ज्योति पौडेलले महिलाको नेतृत्व जहाँ बढी मात्रामा हुन्छ त्यहाँ सुशासन हुन्छ भन्ने अहिलेको समितिले देखाएको बताउनुभयो । उहाँले संस्थाले गरेको सही निर्णयको साथमा आफु रहेको पनि बताउनुभयो। सस्थापक अध्यक्ष पौडेलले वन समुहले ल्याएका सबै कार्यक्रमहरु उपभोक्ताहरूको हितमा रहेको बताउनुभयो।

सामुदायिक वन उपभोक्ता महासंघ गैडाकोटका सचिव सुरेन्द्र ढुंगानाले समयको मागअनुसार इन्धन र विद्युतको महसुल वृद्धिको असहज परस्थितिलाई सहज बनाउनको लागि विपन्नलाई राहत पुग्ने र जीवनस्तरमा सहयोग पुग्ने किसिमका कार्यक्रम समुहले गरेको बताउनुभयो ।
नन्दन सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष हरिमाया अधिकारीले वनबाट प्राप्त आम्दानीलाई उपभोक्ताको जीवनमा प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रममा लगानी गरेको बताउनुभयो। अध्यक्ष अधिकारीले स्थानीय सरकार, सम्पूर्ण उपभोक्ताहरूको सक्रिय सहभागिताले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सक्ने विश्वास लिएको बताउनुभयो।
समुहको सचिव कमला शर्माले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी कार्यक्षेत्र भित्र रहेका ४४ जना विपन्न उपभोक्तालाई स्वास्थ्य बीमा कार्यक्रम त्यस्तै स्वस्थ ऊर्जा र वन संरक्षणलाई सम्बर्धन गर्ने उद्देश्यले २० जनालाई विद्युतीय चुलो वितरण, ९ जना सदस्यलाई निःशुल्क वन पैदावार वितरण गरेको बताउनु भयो । त्यस्तै शैक्षिक वातावरण सुधार तथा भौतिक पूर्वाधार निर्माणको लागि भाग्योदय आधारभूत विद्यालय, विजय आधारभूत विद्यालय र सृर्जनशील आधारभूत विद्यालयलाई १ लाख ५० हजारआर्थिक सहयोग गरेको बताउनु भयो ।
समुहको कोषाध्यक्ष डिला सुबेदीले संस्थाको कार्यक्षेत्रभित्र रहेका १६ वटा टोल विकास संस्थालाई संस्था सञ्चालनको लागि ७ हजारका दरले चेक हस्तान्तरण गरेको बताउनु भयो । त्यस्तै महिला सशक्तिकरण अन्तर्गत महिलाहरूको लागि ६५ दिने एडभान्स सिलाई कटाई तालिममा १० जना र कपाल काट्ने तालिममा २० जनाको सहभागिता रहने बताउनु भयो ।

कार्यक्रममा टोल विकास संस्थाको तर्फबाट भाग्योदय टोल विकास संस्थाका अध्यक्ष मोती प्रसाद अधिकारी, विद्यालयको तर्फबाट विजय आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरबहादुर कुमाल, मौलाकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिप्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा गैडाकोट वडा नम्बर ६ का वडा अध्यक्ष सुभाष चापाँगाई, सब डिभिजन कार्यलय गैडाकोटका फरेष्टर संगीत पराजुलि ,समूहका पूर्व अध्यक्ष लक्ष्मण त्रिपाठी, घनश्याम कडेल,बालकृष्ण गौडेल, शुभचिन्तक, समाजसेवी, बुद्धिजीवी, उपभोक्ता सदस्य, टोल विकास संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
समूहका उपाध्यक्ष नरजंग रानाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण समूहको सचिव कमला शर्माले गर्नुभएको थियो।
