सरस्वती निकेतनमा विद्यालय निर्वाचन सम्पन्न, स्कुल क्याप्टेनमा आकृति रानामगर निर्वाचित
गैंडाकोट । सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयमा विद्यालय निर्वाचन-२०८३ सम्पन्न भएको छ । आइतबार विद्यालय परिसरमा आयोजित निर्वाचनमार्फत विद्यार्थीहरूमा नेतृत्व विकास, जिम्मेवारीबोध तथा लोकतान्त्रिक संस्कारको प्रवद्र्धन गर्ने उद्देश्यअनुसार विद्यार्थी प्रतिनिधि चयन भएका हुन् ।
निर्वाचनमा कुल २५८ मत खसेकोमा २४१ मत सदर तथा १७ मत बदर भएको निर्वाचन कार्यसमिति संयोजक एवं विद्यालयका नेपाली विभागीय प्रमुख राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो।
निर्वाचनको नतिजाअनुसार कक्षा ९ की आकृति रानामगर ७६ मत प्राप्त गर्दै स्कुल क्याप्टेनमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सौगात श्रेष्ठले ७३ मत प्राप्त गर्नुभएको थियो।
त्यस्तै, कक्षा ८ की रचना पौडेल १३२ मत प्राप्त गर्दै स्कुल भाइस-क्याप्टेनमा निर्वाचित हुनुभएको छ । उहाँकी प्रतिद्वन्द्वी यान्सु गुरुङले ४३ मत प्राप्त गर्नुभएको थियो। निर्वाचन अधिकृतको जिम्मेवारी कक्षा १० की छात्रा सर्वना पाठकले निर्वाह गर्नुभएको थियो।
कार्यक्रमबारे जानकारी दिँदै संयोजक रेग्मीले विद्यार्थीहरूलाई व्यवहारिक रूपमा निर्वाचन प्रक्रिया बुझाउने, नेतृत्व क्षमता विकास गर्ने तथा जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने उद्देश्यले विद्यालय निर्वाचन आयोजना गरिएको बताउनुभयो। उहाँले निर्वाचित सबै विद्यार्थी प्रतिनिधिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
विद्यालयका सहायक प्राचार्य लक्ष्मण कंडेलले सम्पूर्ण विद्यार्थीलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित वातावरणमा मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभएको थियो ।
विद्यालयले यस्ता गतिविधिले विद्यार्थीहरूमा लोकतान्त्रिक मूल्य-मान्यता, सहकार्य र नेतृत्व विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।