गैंडाकोट ५ मा अपांगता भएका व्यक्तिलाई झुल र हर्रिक्स वितरण
गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नं. ५ ले आफ्नो वडाभित्र रहेका ‘क’ र ‘ख’ वर्गका करिब २९ जना अपांगता भएका व्यक्तिहरूलाई झुल र १ किलोको हर्रिक्स वितरण गरेको छ । गर्मी मौसमलाई मध्यनजर गर्दै वडाको बजेटबाट उक्त सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । अपांगता भएका व्यक्तिहरूको स्वास्थ्य तथा दैनिक जीवनलाई सहज बनाउन सहयोग पुग्ने उद्देश्यले झुल र हर्रिक्स हस्तान्तरण गरिएको हो।
वितरण कार्यक्रममा वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले वडाले सामाजिक उत्तरदायित्वअन्तर्गत अपांगता भएका व्यक्तिहरूको आवश्यकता र हितलाई प्राथमिकतामा राखेर विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि लक्षित वर्गको जीवनस्तर उकास्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।
कार्यक्रममा वडा सदस्यहरु शान्ति न्यौपाने, उषा परियार, द्रोणवन सन्यासी लगायतको उपस्थिति रहेको थियो । सहभागीहरूले वडाले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले अपांगता भएका व्यक्तिहरूलाई राहत पुग्ने बताएका थिए ।