गैंडाकोटमा मेलमिलापकर्ताका लागि दुईदिने पुनर्ताजगी कार्यक्रम सुरु

२०८३ जेठ २५ सोमबार १९:१९:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका न्यायिक समितिको आयोजनामा नगरपालिकामा सूचीकृत मेलमिलापकर्ताहरूका लागि दुईदिने पुनर्ताजगी (रिफ्रेसर) तालिम कार्यक्रम सुरु भएको छ ।


कार्यक्रमको उद्देश्य मेलमिलापकर्ताहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्दै स्थानीय स्तरमा उत्पन्न हुने विवादहरूको प्रभावकारी, निष्पक्ष र न्यायोचित समाधानमा सहयोग पु¥याउनु रहेको न्यायिक समितिले जनाएको छ । तालिममा मेलमिलापसम्बन्धी कानुनी व्यवस्था, व्यवहारिक पक्ष, विवाद व्यवस्थापनका उपाय तथा मेलमिलाप प्रक्रियामा अपनाउनुपर्ने विधि र प्रक्रियाबारे प्रशिक्षण प्रदान गरिएको छ । कार्यक्रममा नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवाली, सिताराम अधिकारी, जिल्ला अदालत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का श्रेस्तेदार प्रेमप्रसाद पौडेलले तालिम प्रदान गर्नुभएको थियो ।


गैँडाकोट नगरपालिका न्यायिक समिति संयोजक एवं उपप्रमुख शान्ति कोइरालाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा, न्यायिक समिति सदस्य द्रोणवन सन्यासी, गीता पौडेल लगायत उपस्थिति रहेको थियो ।


दुईदिनसम्म सञ्चालन हुने कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नं. १ देखि १८ सम्मका मेलमिलापकर्ताहरूको सहभागिता रहेको छ । सहभागीहरूले स्थानीय तहमा न्याय सम्पादनलाई थप प्रभावकारी बनाउन तथा समुदायस्तरमा मेलमिलाप संस्कृतिको विकास गर्न कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।


नगरपालिकाले यस्ता क्षमता विकासमूलक कार्यक्रमले मेलमिलापकर्ताहरूको कार्यकुशलता वृद्धि गर्दै स्थानीय विवाद समाधान प्रक्रियालाई थप सहज, छिटो र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने जनाएको छ।