गैँडाकोटमा क्षयरोग मुक्त अभियानको समीक्षा तथा पुनःयोजना तर्जुमा कार्यक्रम सम्पन्न

२०८३ जेठ २८ बिहीबार १६:१९:०० मा प्रकाशित

गैँडाकोट । क्षयरोग मुक्त अभियान अन्तर्गत वडा स्तरीय सूक्ष्म योजनाको समीक्षा तथा पुनःयोजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ। क्षयरोगमुक्त नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ गैँडाकोट नगरपालिका वडा नम्बर ८ मा उक्त कार्यक्रम आयोजना गरिएको हो।

“हो, हामी क्षयरोग अन्त्य गर्छौं” भन्ने नारासहित अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ । वडा स्तरमा सूक्ष्म योजना तयार गरी क्षयरोगमुक्त वडा तथा नगरपालिका निर्माण गर्दै राष्ट्रिय अभियानलाई सफल बनाइने अभियानका संयोजक एवमं जनस्वास्थ्य अधिकृत नारायण सापकोटाले जानकारी दिनुभयो।गैँडाकोट नगरपालिकामा हाल १०३ जना क्षयरोगी रहेको र वडा नं. ८ मा दुई जना क्षयरोगी रहेको जनस्वास्थ्य अधिकृत सापकोटाले जानकारी दिनुभयो।

कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष प्रेम सापकोटाले क्षयरोग नियन्त्रण तथा अन्त्यका लागि सबै सरोकारवालाको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले क्षयरोग उपचार पछि निको हुने रोग भएकाले समयमा उपचार गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा गैँडाकोट–८ निवासी करवीर थापाले नियमित रूपमा ६ महिनासम्म औषधि सेवन गरेपछि क्षयरोगबाट पूर्ण रूपमा निको भएको अनुभव सुनाउनुभयो। नियमित उपचार र औषधि सेवनबाट क्षयरोग निको हुने उदाहरणका रूपमा उहाँ प्रस्तुत हुनुभएको छ।

कार्यक्रममा वडासदस्यहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विद्यालयका प्रतिनिधिहरू तथा टोल विकास संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

क्षयरोग उच्च मृत्युदर भएका १० प्रमुख रोगमध्ये एक हो। गरिबी, अशिक्षा, चेतनाको कमी, आन्तरिक बसाइँसराइ तथा खुला सिमानाजस्ता कारणले क्षयरोग संक्रमणको जोखिम बढ्दै गएको छ। अध्ययनअनुसार गरिब तथा सीमान्तकृत समुदायमा क्षयरोगको जोखिम तुलनात्मक रूपमा बढी रहने गरेको छ।
 

ताजा खबर