कक्षा १२ को परीक्षामा गैंडाकोट इङ्ग्लिस स्कुलको उत्कृष्ट नतिजा, समर्पण रेग्मी ३.९२ जीपीए सहित सर्वोत्कृष्ट 

२०८३ असार ८ सोमबार १५:३७:०० मा प्रकाशित

गैँडाकोट। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नवलपुरको गैंडाकोट इङ्ग्लिस स्कुलले व्यवस्थापन संकायतर्फ उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयका विद्यार्थी समर्पण रेग्मीले ३.९२ जीपीए प्राप्त गर्दै विद्यालय तथा जिल्लाकै उत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल हुनुभएको छ।

यस वर्ष विद्यालयको कुल उत्तीर्ण प्रतिशत ८४.६२ प्रतिशत रहेको विद्यालयले जनाएको छ। उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूको सूचीमा कृष्ण शर्माले ३.७२, योगेश रेग्मीले ३.६६, आयुष थापाले ३.६३, सनम वि.क.ले ३.६२ तथा सञ्जिना सापकोटाले ३.६१ जीपीए प्राप्त गर्नुभएको छ। उच्च जीपीएसहित उल्लेखनीय नतिजा ल्याएका विद्यार्थीहरूले विद्यालयको शैक्षिक स्तरलाई थप उचाइमा पुर्‍याएको विद्यालयको भनाइ छ।

विद्यालयले प्राप्त गरेको यस सफलताप्रति खुसी व्यक्त गर्दै प्राचार्य हिरालाल अर्यालले विद्यार्थी, शिक्षक र अभिभावकबीचको समन्वय, निरन्तरको मेहनत र विश्वासका कारण यस्तो उपलब्धि हासिल भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “हाम्रा विद्यार्थीहरूले व्यवस्थापन संकायतर्फ जिल्लाकै उत्कृष्ट नतिजा ल्याएर विद्यालयको मात्र होइन, सिंगो गैंडाकोट क्षेत्रकै शिर उँचो बनाएका छन्। विद्यार्थीहरूको अथक परिश्रम, शिक्षकहरूको गुणस्तरीय मार्गदर्शन र अभिभावकहरूको निरन्तर साथ र विश्वासकै परिणामस्वरूप जीईएसले यो गौरवपूर्ण सफलता हासिल गरेको हो। आगामी दिनमा पनि अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै विद्यार्थीहरूलाई प्रतिस्पर्धी, सक्षम र जिम्मेवार नागरिकका रूपमा विकास गर्न विद्यालय प्रतिबद्ध रहनेछ।”

विद्यालयले विगतदेखि नै गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण, दक्ष शिक्षक तथा आधुनिक शिक्षण पद्धतिमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको छ। हरेक वर्ष बोर्ड परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको गैंडाकोट इङ्ग्लिस स्कुलले यस वर्ष पनि आफ्नो उत्कृष्टताको निरन्तरतालाई कायम राख्न सफल भएको छ।

विद्यालयको यो उपलब्धिले विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारमा उत्साह थपिएको छ। साथै, आगामी शैक्षिक सत्रमा पनि उत्कृष्ट नतिजाको निरन्तरता कायम राख्दै गुणस्तरीय शिक्षामा अझ प्रभावकारी रूपमा अघि बढ्ने विद्यालयले जनाएको छ।

ताजा खबर