महिला सञ्जाल गैँडाकोट–४ द्वारा आयोजित एकमहिने बाँध्यवादन तालिम सम्पन्न
एसईई मा ४ जीपीए प्राप्त विद्यार्थी सृष्टि थापा मगरलाई सम्मान
गैँडाकोट । महिला सञ्जाल गैँडाकोट–४ को आयोजना तथा गैँडाकोट नगरपालिका वडा नं. ४ कार्यालयको समन्वयमा सञ्चालन गरिएको एकमहिने बाँध्यवादन तालिम आइतबार एक समारोहका बीच सम्पन्न भएको छ।
“मौलिक कला संस्कृतिको जगेर्नाका लागि“ भन्ने मूल नारासहित जेठ ८ गतेदेखि असार ७ गतेसम्म सञ्चालन भएको तालिममा २५ भन्दा बढी महिला दिदिबहिनीहरुको सहभागिता रहेको थियो। तालिमले परम्परागत बाजागाजा बजाउने सीपको विकास गर्दै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा सकारात्मक योगदान पु¥याएको आयोजकले जनाएको छ।
वडा नं. ४ को सभाहलमा सम्पन्न समापन कार्यक्रममा महिला सञ्जालकी अध्यक्ष अनिता काफ्ले घिमिरेले तालिम सफल बनाउन सहयोग गर्ने वडा कार्यालय, प्रशिक्षक तथा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि महिलाको क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरेले महिलाहरूको सीप र क्षमताको विकासमा यस्ता तालिम प्रभावकारी हुने उल्लेख गर्दै संस्कार, संस्कृति र परम्पराको संरक्षणमा बाँध्यवादनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि महिलामैत्री तथा सीपमूलक कार्यक्रमलाई वडा कार्यालयले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सोही अवसरमा यस वर्षको एसईई परीक्षामा ४ जीपीए प्राप्त गर्न सफल वडा नं. ४ की विद्यार्थी सृष्टि थापा मगरलाई महिला सञ्जाल गैँडाकोट–४ र वडा कार्यालयले संयुक्त रूपमा सम्मान गरेको थियो। वडाध्यक्ष घिमिरेले सम्मानित विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा समाजसेवी टोलनाथ घिमिरे, वडा सदस्य शान्ता घर्ती, गैँडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव दामोदर तिवारी, सञ्जालका सल्लाहकार सङ्गीता काफ्ले घिमिरे, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
तालिमका प्रशिक्षक हरि पौडेललाई मायाको चिनोसहित सम्मान गरिएको थियो। तालिममा सहभागि सम्पुर्ण महिला दिदिबहिनीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।
समापन कार्यक्रममा जयश्री वनका अध्यक्ष भीमबहादुर कुमाल, कोटेश्वर शिवालय मन्दिरका अध्यक्ष वामदेव घिमिरे, झपर्दी टोल विकास संस्थाका अध्यक्ष हर्कबहादुर भुजेल, कमला तिवारी तथा महिला दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
महिला सञ्जालकी उपाध्यक्ष माया कँडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सहसचिव रुमिला घिमिरेले गर्नुभएको थियो।