गैँडाकोटमा नेपाली र अंग्रेजी विषय शिक्षकहरूको “क्षमता विकास तालिम तथा कार्यशाला“ सम्पन्न

२०८३ असार ७ आइतबार १९:३७:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नेपाली र अंग्रेजी विषय शिक्षकहरूको “क्षमता विकास तालिम तथा कार्यशाला“आइतबार सम्पन्न भयो । 

गैंडाकोट नगरपालिकाको सभाहलमा सन्चालित दुई दिवसीय तालिममा प्रशिक्षकको रूपमा राजु श्रेष्ठ, शुशिला सेन्चुरी, रूक्मिणी पौडेल र मनोजबिक्रम विष्ट रहनुभएको थियोे । समापन सत्रमा बोल्दै शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख खेमप्रसाद आचार्यले शिक्षकको वृत्ति विकासमा पालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले आगामी वर्ष शिक्षक तालिमसँगै शिक्षक हाजिरी जवाफ र विद्यार्थी लक्षित सिर्जनात्मक क्रियाकलाप सन्चालन गरिने बताउनुभयो ।

त्यस्तै शिक्षा अधिकृत रामप्रसाद अधिकारीले सीप सिक्न र सिकेको कुरा अन्य शिक्षकमाझ प्रस्तुत गर्न कन्जुस्याइँ नगर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा सहभागी नेपाली विषय शिक्षकको तर्फबाट रीता न्यौपाने पन्थ र अंग्रेजी विषयको तर्फबाट सोमनाथ न्यौपानेले सिकाइ प्रभावकारी भएको बताउनुभयो । अंग्रेजी विषय संयोजक राजु पुरीको सहजीकरण रहेको सो कार्यक्रम नगरपालिकास्तरीय नेपाली विषय संयोजक तिलक बटालाको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

ताजा खबर