गैँंडाकोट जेसीजद्वारा गैंडाकोट १ देखि ९ सम्मका विद्यालयका चालक तथा सह–चालकलाई अभिमुखीकरण
गैँंडाकोट । जेसीजको आयोजना तथा गैंडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा ट्राफिक सचेतना, लागूऔषध दुर्व्यसन तथा HIV/AIDS सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। शनिबार गैंडाकोट रिसोर्टमा आयोजित कार्यक्रममा गैंडाकोट १ देखि ९ सम्मका निजि तथा सामुदायिक विद्यालयका चालक तथा सह–चालक गरि करिब ४० जना सहभागीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले युवाहरूलाई समाज परिवर्तनका संवाहकका रूपमा अघि बढ्न आग्रह गर्दै लागूऔषध दुव्र्यसन, असुरक्षित यौन व्यवहार, साइबर दुव्र्यवहार तथा ट्राफिक नियम उल्लङ्घनजस्ता सामाजिक समस्याबाट टाढा रहन सचेतना अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले युवाहरूमा सकारात्मक सोच, अनुशासन र जिम्मेवारीबोध विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि तथा गैंडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खेमप्रसाद आचार्यले विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रमको आवश्यकता औंल्याउँदै युवाहरूलाई सही सूचना र ज्ञान प्रदान गर्न सकेमा समाजमा देखिने विभिन्न विकृति तथा विसंगति न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो।
विशिष्ट अतिथि तथा गैंडाकोट जेसीजका संस्थापक अध्यक्ष बद्री सापकोटाले जेसीजले युवाहरूको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा सामाजिक रूपान्तरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्नुभयो।
कार्यक्रममा पूर्व अध्यक्ष तथा बोर्ड अफ ट्रष्टीजका अध्यक्ष परमेश आचार्य, पूर्व अध्यक्ष एवं नेपाल जेसीज प्रोजेक्ट संकल्प २०२६ का चियरपर्सन शंकर अधिकारी, पूर्व अध्यक्ष राजेश पौडेल तथा निवर्तमान अध्यक्ष हरि पौडेलले पनि युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न हुन प्रेरित गर्नुभएको थियो।
कार्यक्रममा गैंडाकोट जेसीजका पुर्व अध्यक्ष एवं प्रशिक्षक कृष्णहरि सापकोटाले HIV/AIDS तथा लागूऔषध दुव्र्यसन सम्बन्धी प्रशिक्षण दिँदै HIV/AIDS सर्ने र नसर्ने माध्यम, यसबाट बच्ने उपाय, संक्रमित व्यक्तिप्रति गरिनुपर्ने व्यवहार तथा लागूऔषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे जानकारी गराउनुभयो। उहाँले युवाहरूलाई गलत संगत र कुलतबाट टाढा रही स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयो।
जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक कुशल कुमार बर्तौलाले ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण प्रदान गर्दै सडक सुरक्षाका आधारभूत नियम, सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानी, हेल्मेट तथा सिटबेल्टको प्रयोगको महत्व र दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी दिनुभयो।
त्यसैगरी इलाका प्रहरी कार्यालय गैंडाकोटका असई प्रदीप लम्सालले साइबर बुलिङ सम्बन्धी प्रशिक्षण दिँदै सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, साइबर अपराध तथा साइबर बुलिङबाट बच्ने उपायबारे सहभागीहरूलाई सचेत गराउनुभयो।
कार्यक्रममा नेपाल जेसीजका पुर्व कार्यकारिणी उपाध्यक्ष एवं प्रशिक्षक शिव प्रसाद भुसालले व्यक्तित्व तथा नेतृत्व विकासको विषयमा सहजीकरण गर्दै आत्मविश्वास, प्रभावकारी सञ्चार, सकारात्मक सोच, समय व्यवस्थापन तथा नेतृत्वका आधारभूत सीपहरूको महत्वबारे प्रकाश पार्नुभयो। उहाँले सफल नेतृत्वका लागि अनुशासन, जिम्मेवारी र निरन्तर सिकाइ आवश्यक रहने बताउनुभयो।
गैंडाकोट जेसीजका अध्यक्ष ईश्वर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण महासचिव कमल तिवारीले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन धुर्व पौडेलले गर्नुभएको थियो।
कार्यक्रमले सहभागीहरूमा ट्राफिक सचेतना, साइबर सुरक्षा, HIV/AIDS तथा लागूऔषध दुव्र्यसनका विषयमा ज्ञान अभिवृद्धि हुनुका साथै व्यक्तित्व तथा नेतृत्व विकासमा समेत महत्वपूर्ण योगदान पुगेको गैंडाकोट जेसीजले जनाएको छ।