देशभर १० प्रतिशत मात्र धान रोपाइँ

२०८३ असार १० बुधबार १७:२८:०० मा प्रकाशित

काठमाडौं । देशभर हालसम्म करिब १ लाख ३७ हजार हेक्टर क्षेत्रमा धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार यो कुल लक्ष्य क्षेत्रफलको करिब १० प्रतिशत मात्र हो । गत वर्षको तुलनामा रोपाइँ ०.४ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । देशभर करिब १३ लाख ८१ हजार हेक्टर जमिनमा धान रोपाइँ हुने अनुमान गरिएको छ । तर मनसुन ढिला सक्रिय हुँदा अधिकांश क्षेत्रमा रोपाइँ अपेक्षित रूपमा अघि बढ्न नसकेको विभागले जनाएको छ ।

 

प्रदेशगत विवरणअनुसार हालसम्म सबैभन्दा बढी रोपाइँ कर्णाली प्रदेशमा २२.८ प्रतिशत भएको छ । त्यसपछि बागमती प्रदेशमा २.३ प्रतिशत, मधेस प्रदेशमा हालसम्म करिब ५ प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि विभागका महानिर्देशक प्रकाशकुमार संजेलका अनुसार मनसुन ढिलाइका कारण अधिकांश क्षेत्रमा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको हो । मौसमको प्रतिकूलता, प्राकृतिक विपद्, मल अभाव तथा अन्य समस्याले पनि रोपाइँ ढिला भइरहेको उहाँले बताउनुभयो ।

 

विभागका अनुसार तराई क्षेत्रमा कुल धान उत्पादनको करिब ७० प्रतिशत योगदान रहने गर्छ भने पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ । कृषि सूचना केन्द्रले किसानलाई आधुनिक प्रविधि, मौसमसम्बन्धी जानकारी तथा उत्पादन वृद्धि गर्न आवश्यक ज्ञान र सीप उपलब्ध गराउँदै आएको जनाएको छ।