कावासोती नगरपालिकाले ल्यायो रु. ९९ करोड १० लाखको बजेट 

२०८३ असार ९ मंगलबार १९:११:०० मा प्रकाशित

कावासोती  । नवलपुरको कावासोती नगरपालिकाको १९औँ नगरसभा अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।

नगरसभामा नगर प्रमुख विष्णुप्रसाद भुसालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। उहाँले नगरको समग्र विकास, सुशासन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो। प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलपछि नगरसभाले सर्वसम्मत रूपमा पारित गरेको हो।

त्यसैगरी नगर उपप्रमुख फुलकुमारी थनेतले आगामी आर्थिक वर्षका लागि रु। ९९ करोड १० लाख बराबरको बजेट सभा समक्ष प्रस्तुत गर्नुभएको थियो। नगरसभाले उक्त बजेटलाई समेत सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ।

पारित बजेटमार्फत नगरभित्रका विकास निर्माणका कार्यलाई थप प्रभावकारी बनाउने, आधारभूत सेवा प्रवाहलाई सुदृढ गर्ने तथा नागरिकमैत्री कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ। बजेटमा कृषि उत्पादन वृद्धि, खानेपानी तथा सरसफाइ, सडक तथा पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धि, महिला तथा युवामुखी कार्यक्रम, सामाजिक सुरक्षा तथा वातावरणीय संरक्षणका कार्यक्रमलाई प्राथमिकता दिइएको छ।

नगर प्रमुख भुसालले नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नगरवासीको अपेक्षाअनुसार विकास र सेवा प्रवाहलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। 
 

ताजा खबर