समयमै ऋण भुक्तानी गर्न जिल्ला सहकारी संघको आग्रह

२०८३ असार १५ सोमबार ०७:१९:०० मा प्रकाशित

नवलपुर । जिल्ला सहकारी संघ लिमिटेड, नवलपुर (बर्दघाट सुस्ता पूर्व) ले सहकारीबाट ऋण लिएका सम्पूर्ण सदस्यलाई तोकिएको भाका अवधिमै ऋण भुक्तानी गर्न आग्रह गरेको छ।


संघका अध्यक्ष तिलक प्रसाद पराजुली द्वारा जारी सूचनामा सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पछिल्लो समय केही सदस्यले समयमै ऋण नतिर्दा सहकारी संस्थाको वित्तीय अवस्था प्रभावित हुन थालेको जनाइएको छ। बचतकर्ताको रकम फिर्ता गर्न कठिनाइ हुनुका साथै सहकारी संस्थाको सेवा प्रवाहमा समेत असर परेको सूचनामा उल्लेख छ।


संघले सबै ऋणी सदस्यलाई आफ्नो दायित्व पूरा गर्दै समयमै ऋण चुक्ता गर्न अनुरोध गरेको छ। भाका नाघेर पनि ऋण भुक्तानी नगर्ने सदस्यमाथि प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने तथा स्थानीय तहबाट प्रदान गरिने केही सेवा–सुविधामा समेत प्रभाव पर्न सक्ने चेतावनी दिइएको छ।
जिल्ला सहकारी संघले सहकारीको वित्तीय अनुशासन, बचतकर्ताको हित र सहकारी अभियानको दिगोपनाका लागि सबैको सहयोग आवश्यक रहेको जनाएको छ।