सडक सुरक्षाको सन्देशसहित गैँडाकोट जेसीजको जेसीज सप्ताह शुभारम्भ, साताव्यापी कार्यक्रम सार्वजनिक

२०८३ मङ्सिर १२ शुक्रबार ०६:५४:०० मा प्रकाशित


गैँडाकोट जेसीज वर्ष २०२६ को आयोजनामा जेसीज सप्ताह–२०८३ को उद्घाटनसँगै ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। जनक नमुना माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले जेसीजले युवाको नेतृत्व विकाससँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा गर्दै आएका गतिविधि प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि जनक नमुना माध्यमिक विद्यालयका प्राचार्य बुद्धिसागर पण्डितले विद्यार्थीहरूमा अनुशासन, जिम्मेवारी र सामाजिक चेतना विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।
त्यसैगरी, विशिष्ट अतिथि तथा प्रशिक्षक प्रहरी नायब निरीक्षक सुरज अर्यालले ट्राफिक नियमको पालना, सुरक्षित यात्रा, सडक अनुशासन र दुर्घटना न्यूनीकरणका उपायबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले सडक सुरक्षाका लागि प्रत्येक नागरिक जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।

 


कार्यक्रममा विद्यालयका सहायक प्राचार्य हिमालदेव पंगेनी, शिक्षक अभिभावक संघका प्रतिनिधि दीपक ढुङ्गाना तथा कक्षा ११÷१२ संयोजक प्रेम आचार्य लगायतको आतिथ्यता रहेको थियो।
गैँडाकोट जेसीज वर्ष २०२६ का अध्यक्ष ईश्वर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन अर्जुन पराजुलीले गर्नुभएको थियो भने सञ्चालन महासचिव कमल तिवारीले गर्नुभएको थियो। कार्यक्रममा आसाही एजुकेसन गैडाकोट ४ ले प्राविधिक सहयोग गरेको थियो।
जेसीज सप्ताह अन्तर्गत मंसिर ११ गते आज विजय आधारभूत विद्यालय गैंडाकोट ८ मा स्टेसनरी वितरण, १२ गते मौलाकालिका मन्दिर पदयात्रा तथा सरसफाइ, १४ गते जेसीज सदस्यहरूका लागि तालिम, १५ गते स्वास्थ्य शिविर र १६ गते न्यानो कपडा वितरण कार्यक्रम आयोजना गरिने महासचिव कमल तिवारीले जानकारी दिनुभयो।
त्यसैगरी, मंसिर १८ गते चितवन, नवलपुर र तनहुँका जेसीज शाखाहरूबीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरी जेसीज सप्ताह समापन गरिने गैँडाकोट जेसीजले जनाएको छ।