जेसीआई बीसहजारद्वारा विद्यार्थीलाई प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम

२०८३ मङ्सिर १२ शुक्रबार ०७:००:०० मा प्रकाशित

जेसीआई बीसहजारको आयोजनामा विद्यार्थीहरूलाई लक्षित गरी प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न भएको छ। बिहीबार चितवनको भरतपुर महानगरपालिका–२८ स्थित सरस्वती माध्यमिक विद्यालय, जितपुरमा आयोजित तालिममा विद्यार्थीहरूलाई सार्वजनिक रूपमा आफ्ना विचार तथा अभिव्यक्ति स्पष्ट, आत्मविश्वासपूर्ण र प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने सीपबारे प्रशिक्षण दिइएको थियो।
तालिममा जेसीआई बीसहजारका महासचिव राजेश भुसाल, नेपाल पत्रकार महासंघ नवलपुरका सदस्य तथा जेसीआई गैंडाकोटका अजय पौडेल र जेसीआई शारदानगरका दिपेश आचार्यले प्रशिक्षण दिएका थिए। प्रशिक्षकहरूले सार्वजनिक वक्तृत्वकलाको महत्त्व, बोल्ने शैली, आत्मविश्वास अभिवृद्धि, प्रभावकारी सञ्चार तथा मञ्चमा प्रस्तुत हुँदा ध्यान दिनुपर्ने विषयमा सहजीकरण गरेका थिए।
तालिममा सहभागी विद्यार्थीहरूले प्रशिक्षणबाट सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास र आफ्नो विचार प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्षमता विकास गर्न सहयोग पुगेको सकारात्मक प्रतिक्रिया दिएका थिए।

 


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमाकान्त न्यौपानेले यस्ता तालिमले विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा सञ्चार सीप अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउने बताउँदै आयोजक तथा प्रशिक्षकहरूप्रति आभार व्यक्त गरेका थिए।
जेसीआई बीसहजारका अध्यक्ष जीवन ढकालको नेतृत्वमा आयोजित कार्यक्रम विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व र प्रभावकारी सञ्चार सीप विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।