युवाले भने, ‘मेरो भोट, मेरो भविष्य’

२०७९ बैशाख २१ बुधबार १७:३०:०० मा प्रकाशित


गैँडाकोट । स्थानीय तह सदस्य निर्वाचन २०७९ को अवसरमा गैँडाकोटमा ‘मेरो भोट, मेरो भविष्य’ विषयक नवलपुर जिल्ला कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।  
विजय विकास स्रोत केन्द्रको पहलमा “स्वतन्त्र एवं स्वच्छ चुनावका लागि असंलग्न अनुगमन तथा मतदाता शिक्षा” कार्यक्रमको आयोजनामा भएको प्रतियोगितामा मध्यविन्दु क्याम्पसका यमकला पौडेल प्रथम हुनुभएको छ । त्यस्तै प्रतियोगितामा अक्सफोर्ड कलेजका सविना खतिवडा द्वितिय, जनज्योती बहुमुखी क्याम्पसका वन्दना विक तृतिय र जनक कलेजका सुनिल ढुङ्गानाले सान्तवना स्थान हाँसिल गर्नुभएको छ । प्रतियोगितामा उनीहरुले भोट व्यक्तिको भविष्य रहेकोले सोही अनुरुप उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतियोगितामा साहित्यकार एवं कविवर गोविन्दराज विनादी, बालकुमारी कलेजका पूर्व प्राचार्य एवं सहित्यकार गायत्री श्रेष्ठ र विरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक सहित्यकार कपिल अज्ञात निर्णायकमा हुनुहुन्थ्यो । प्रथम पुरस्कार १२ हजार, द्वितिय पुरस्कार ८ हजार, तृतिय पुरस्कार ६ हजार र सान्तवना ४ हजार सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको संयोजक प्रेमप्रसाद सापकोटा राजुले जानकारी दिनुभयो ।      
कार्यक्रमका अध्यक्ष विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले निर्वाचनका बेला स्वतन्त्र र स्वच्छ बनाउन मतदातालाई सचेत गराउन पनि कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमको औचित्यमाथी प्रकाश एवं स्वागत मन्तव्य व्यक्त गर्दै विजय विकास स्रोत केन्द्रको “स्वतन्त्र एवं स्वच्छ चुनावका लागि असंलग्न अनुगमन तथा मतदाता शिक्षा” कार्यक्रमका व्यवस्थापक आदर्श सिग्देलले कार्यक्रम अन्तर्गत युवा, महिला र अपाङ्गता भएका व्यक्तिहरुको एजेण्डाका विषयमा गोष्ठी, सञ्चारकर्मी अभिमुखिकरण, रेडियो कार्यक्रम, सचेतना ¥याली लगायतका कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
प्रतियोगितामा जिल्लाका विभिन्न कलेजका १५ जनाले सहभागिता जनाएका थिए । कार्यक्रमको सहजिकरण विजय एफएमका सहायक स्टेशन म्यानेजर प्रेम क्षेत्रीले गर्नुभएको थियो ।