राजनीति
राजनीति अशल शासन, सुशासन र कुशल शासनको समग्र जोड हो । अर्थात तीन कलाको संगम स्थल हो ।राजनीतिमा यी तिनै तत्वहरुको मेल राम्रो बन्न गयो भने शासनकलामा कौशल निखारता आउँदछ । तर यही कौशल शासनको मेलमा शासनमा राजनीतिक तागतको प्रदर्शन खोजियो भने मुल जड समस्याले जरा गाड्न पुग्दछ । यही राजनीतिक जड समस्याले समाज र राज्यमा सुव्यवस्था कायम राख्न अप्ठ्यारो बनाइदिन्छ । यहाँ इमानदारी र मेहनत गर्नेको लागि न सम्मान, न ऊर्जा जागृत गराउने उत्प्रेरणाको तागत छ । हर कुनै सामाजिक क्षेत्रमा सत्ता र शासनको लागि स्थान कब्जा गर्ने होड छ । कुशल शासन र जनमनमा स्तरीय सेवा प्रदान गर्ने ध्येय नै क्षय भएको छ । शासन र सत्ता राम्रोको लागि नभएर हाम्राका लागि मात्र बन्न पुगीरहेको छ । लक्ष्य प्राप्तिका लागि सहकार्य र साझेदारी गर्नु मात्र ठुलो होइन त्यही स्तरमा जनमनमा चेतनाको स्तर उच्च स्तरमा वृद्धि हुनु पनि हो ।
कुशल राजनीतिक विकासमा युवाहरुको सहभागिता प्रवर्धन एवं सुनिश्चित गर्नु आजको समयमा अपरिहार्यता देखिन्छ । जो समाज र राष्ट्रले खोजीरहेको गएको स्थानीय तह चुनावको नतिजाबाट स्पष्ट देखिन्छ । अब मंसिर ४ मा हुने चुनावको नतिजाले पनि यस्तै अवस्था देखाएको खण्डमा साँच्चै जनता युवा केन्द्रित शासनमा विश्वास बनाउँदै गएका छन् भन्ने जनमनको धारणाबाट पनि बुझ्न सकिन्छ । सिद्धान्त, विचार, मुल्य मान्यतामा सधैं फरक धारणा राख्ने दलहरुबीच चुनावी अवस्थामा मात्र तालमेल हुनु शक्ति र सत्ताको आशक्ति रहेको मान्न सकिन्छ । फरक धारमा जन्मिएका विचार, दर्शन र सिद्धान्त आपसमा कहिल्यै मिल्न सक्दैनन् । जनतालाई थाहा छ त्यस्तो कुनै ठाउँ छैन जहाँ विश्वास गर्न योग्य ठाउँ रहेको होस् ।
कुनैपनि कार्यलाई राम्रोसँग चलाउनु छ भने रणनीति राम्रो हुनुपर्दछ । खेललाई सभ्य र भव्य तरिकाले खेलाउनु छ भने कुटनीति राम्रो र बलियो हुनुपर्दछ । यहाँनेर ओसोले भन्नुभएको वाक्यलाई जोड्न चाहें । राजनीति एक खेल हो । चलाखहरु यससँग खेल्दछन् अरु मूर्ख ∕ यसबारेमा दिनभर चर्चा गर्दछन् । प्रसिद्ध दार्शनिक शेक्सपियरले पनि भन्नुभएको छ । अति महत्वाकाङ्क्षाले देवतालाई पनि पतन गराउँदछ । शासन व्यवस्थामा उच्च महत्वाकाङ्क्षाले मात्रपनि राजनीति माथि आउन सक्दैन । नैतिकता र इमानदारिताको अभावमा जस्ता प्रकारका गतिविधिहरु गर्न पछि नहट्ने हाम्रो बानी र व्यवहारमा कहिल्यै सुधार आउन सक्दैन । फलस्वरुप समयले यस्ता रुप र संकेतहरु देखाउन पुग्दछ कि अवस्थाले शासन व्यवस्थामा गतिशिल परिवर्तित शासनको खोजी गरिरहेको छ ।
देशका विभिन्न जिल्ला र क्षेत्रमा स्थानीय निकाय र त्यसका इकाई रहेका हुन्छन् । तीनले गर्ने कार्य सबैको एउटै हुन्छ तर त्यहाँ मानवीय प्रवृत्ति र व्यवहारिक आचरणले देखाउने स्थिति बिल्कुल भिन्न प्रकृतिको हुन्छ । यसैले गर्दा सबै स्थानका जनताले प्राप्त गर्ने सामाजिक न्याय, सेवा, सहयोग र समन्वयको अवस्था स्थान विशेष अनुसार फरक पर्न जाने हुन्छ । नेपालको संविधान, २०७२ ले पनि नेपाललाई संघीय राज्यमा रुपान्तरण गरी देशलाई सात प्रदेशमा ७५३ स्थानीय निकाय र सोही अनुरुपमा जिल्लाहरुको व्यवस्था गरेको पाइन्छ । संविधानतहः अहिले संघीय सरकार, ७ प्रदेशमा प्रदेश सरकार, ७७ जिल्लामा समन्वय समिति, ७५३ पालिकामा सरकारको व्यवस्था कायम गरिएको छ । देशका तीनै तहका सरकारबीचमा समन्वय, सहकार्य, सहअस्तित्व हुनुपर्ने संवैधानिक व्यवस्था उल्लेख भएतापनि तीनै सरकारमा आपसमा कुशल समन्वय र सहकार्य हुन नसक्दा कुशल सार्वजनिक सेवा प्रवाह र सुशासन कायम राम्रो हुन नसकेको अवस्था विद्यमान नै रहेको छ । स्थानीय निकायको चुनाव सफल रुपमा सम्पन्न भएसँगै मंसिर ४ मा हुने चुनावको तयारी चलिरहेको छ । यो चुनावमा युवाहरुको सक्रिय सहभागिता र प्रतिस्पर्धी भावनाले सुशासनमा सुधार र सेवामा तत्परता देखाउन कमजोर रहेको पंक्तिलाई यही कुराको संकेत गरिरहेको छ । राज्य होस् वा राजनीतिक दलले अबको राजनीति युवा पुस्ताको हातमा नेतृत्व खोजिरहेको छ ।
देशमा संघीय प्रणालीलाई तीनै तहमा संस्थागत गर्ने प्रयासले सार्थकता पाएता पनि संघीयता, गणतन्त्र एवं समावेशिताबाट प्राप्त हुने लाभहरुको न्यायोचित वितरण हुन नसकेको अवस्था देखिन्छ । यसका लागि तीन तहका सरकारहरुबीच अन्तरनिर्भरता विकास गर्दै परस्पर सहयोग विस्तार गरेर समन्वयमा कार्य गर्नु आवश्यक छ । राज्य बलियो हुनु भनेको राज्य व्यवस्थामा रहेका सबै अंग बलिया र शक्तिशाली बन्नु हो । तर हाम्रो राजनीतिक कौशलता, कुटनीतिक र परस्परमा सहकार्यको कमजोर प्रस्तुती फितलो काम चलाउ व्यवहारले समाज र राज्य शक्तिशाली बन्न सकेन् । मंसिर ४ मा आउँदै गरेको चुनावको पूर्व सन्ध्यामा नेतृत्व तहमा रहन सक्ने सम्भावित प्रतिस्पर्धी फेरिपनि अहिलेसम्म पिछडिएको गाउँ ठाउँलाई अब सम्पन्न र विकसित बनाउँदछौँ भन्दै जनतामा आश्वासनका नारा हालेर कुर्लिरहेका छन । विकास र समृद्धिका गीत गाएर जनता समक्ष गाउँ समाजमा ओइरिएका छन् । मनमा समाज र राष्ट्रका लागि यस्ता कार्यहरु अवश्य गर्छु भन्ने दृढ संकल्पको नै अभाव रहेको छ । विकासमा यस्तो गर्छु उस्तो गर्ने पहलको आश्वासन दिएर राजनीतिक खेलमा रमाइएको छ । गन्तव्य विहिन यात्राले भविष्यमा दिने परिणाम शून्य छ । त्यो परिणाम जनताले आजसम्ममा देखिरहेका र भोगिसकेका छन् । अर्थात नेपालको राजनीतिक इतिहासमा दलले आजसम्म जे गरे त्यो जनताले देखिसकेका छन् । अबका दिनमा भने जनताले जसले समाज र राष्ट्रलाई बदल्न सक्छन् उनीहरुलाई पर्खिरहेका छन् । अबको राजनीतिमा आशा भनेको युवा पुस्ता हुन् । जसलाई विकासको मेरुदण्ड मानिन्छ । जहाँ शिक्षित, सचेत, नैतिकवान र कौशलताको खाँचो भएको महसुस राज्यलाई टर्न सक्छ । गत सम्पन्न भएको स्थानीय चुनाव २०७९ ले पनि यस कुराको संकेत गरिरहेको छ । जनताले आप्mना अधिकार प्राप्तिका लागि चुनेका चालकहरु जनताकै काम गर्न हात कमाउँछन् भने जनताले अब विश्वास कसलाई गर्ने ? राजनीतिक शासन र शक्तिमा असफल मानिएका जनताका नेतृत्वकर्ता फेरिपनि लाइनमा व्यवस्थित गरिएका छन् । यस्तो अराजक मानिएको लाइनलाई फुटाउने अभिभारा हाम्रो नै हो । व्यवस्था र शासन शक्तिमा नयाँ कौशल व्यवस्था कायम गराउने पनि हामी नै हौँ भने अब के का लागि रोकिनु र पर्खनु पर्ने छ र ?
दोस्रो जनआन्दोलन पश्चात देशमा २ पटक संविधान सभा, २ पटक स्थानीय तह र एकपटक संघ र प्रदेश सभा निर्वाचन सम्पन्न भइसकेको छ । मंसिर ४ गते जनताले छैठौँ पटक निर्वाचन गर्दैछन् । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् । बितेका चुनावमा जनताले दलको मेलमिलापको दुई धारलाई सहर्ष अनुमोदन गरे । तर नेतृत्वधार आपसमा मिल्न सकेनन् र राष्ट्रको शासन र राजनीतिलाई फोहोरी खेलमा राखी रहे । अब जनताले त्यो घातलाई सच्याउने बेलाआएको छ ।
समग्रमा राज्यमा राज्यको स्वरुप र जनचाहनालाई पूरा गर्ने नेतृत्व शक्तिको आवश्यकता छ । नयाँ वैकल्पिक शक्ति जो नयाँ धारबाट समाज र राष्ट्र विकासलाई अगाडि बढाउन चाहन्छन् । उनीहरुलाई कसैले रोक्न र छेक्न नखोजौँ । हिजोकै गाईजात्रे अवस्थामा रमाइरहे समाज, देश र जनता जहाँ छन उहीं रहनेछन् । गन्तव्य विहिन राजनीति यात्रामा रमाउँदै हिंडिरहेका यात्री हौँ हामी । राजनीति समाज फेर्न गरिने दिशा निर्देशित प्रयत्न हो । यसलाई बुझेर मुल बाटोमा पाइला अगाडि बढाउन सकौँ । फरक वैचारिक धार र एजेण्डालाई लिएर राजनीतिक गन्तव्य यात्रामा लम्कन सकौँ । अंक गणितिय खेलमा सतहमा रमाउन छोडी राज्यको दोहन गर्ने सोच लिएर राजनीतिक धारमा उत्पादित भएका अयोग्य, भ्रष्ट र प्रतिगामीतत्वहरुलाई फाल्न सकौँ । बाहिरी सामाजिक आवरणमा हो भन्ने देखाउन खोज्नेहरुलाई परास्त गर्न सर्कौँ । हरेक चुनावमा समाज विकासका लागि हामी आशा र विश्वास गरेर अमुल्य मतको प्रयोग गर्दछौँ तर सत्तासिन नेतृत्व वर्ग घातको हाटबजार बनाएर रहन्छ । सोच विचार गरी आप्mनो अमुल्य मतको प्रयोग गर्न सकौँ । अब हाम्रो चेतनाको स्तरमा सुधार ल्याउन असमर्थ रह्यौ भने अनुत्पादक क्षेत्रमा शालिक, भ्युटावर, मठ मन्दिर आदिमा उल्लेख्य लगानी बढ्नेछ । हामीले चाहेका विकास र समृद्धिका मुद्दा राजनीतिक ध्रुवमा बेवारिसे बनिरहने छन् । यसैले कुशासनका खलनायक पात्रहरुलाई पाखा लगाउन सकौँ । कुरुप अनुहारलाई फेर्न सकौँ । विकास र समृद्धिको सही दिशामा अगाडि बढ्न सकौँ । हामीले चाहेको परिवर्तन त्यही हो जुनहामीले चाहेका छौँ । जय नेपाल ।
गैंडाकोट नगरपालिका–१, नवलपुर