गैंडाकोट नगरपालिकाले गर्यो सहकारी निर्देशनका विषयमा अन्तरक्रिया

गैँडाकोट । गैंडाकोट नगरपालिकाले बचत तथा ऋणको कारोबार गर्ने गैडाकोट नगरपालिकाका सहकारी संस्थाहरूको लागि एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।
गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले सहकारीहरूले नराम्रो गर्ने छुट नभएको बताउनुभएको छ। सहकारीहरूले गैरकानुनी र गलत काम गरेमा कानुन अनुसार कारबाही गरिने पनि नगरप्रमुख अधिकारीले बताउनुभएको हो। गैंडाकोटमा रहेका सहकारीहरूले कानुन र सही अभ्यास गराउँदै अघि बढेको बताउँदै उहाँले सहकारीको गलत सूचना आए अनुगमन गरेर कानुन अनुसारको कारबाही गरिने पनि बताउनुभएको हो।
गैंडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र गौतमले संस्था नीति निर्देशनको बारेमा अभिमुखीकरण गराउनुभएको छ। उहाँले राष्ट्रिय सहकारी प्राधिकरणले लागू गरेका निर्देशनहरू २०८२ का बारेमा सहकारीकर्मीहरूलाई जानकारी गराउनुभएको थियो।
गैंडाकोट नगरपालिकामा ३६ वटा सहकारी रहेको र २० अर्ब ५१ करोड बढीको कारोबार गरिरहेको उहाँले बताउनुभयो। गैडाकोटका सहकारीको कारोबार नवलपुरका सहकारीहरूको कारोबारको ५० प्रतिशत रहेको पनि उहाँले जानकारी दिनुभएको छ। सहकारी संस्थाहरूमा विचलन आउने र समस्या भएको देशभरका घटनाहरू जस्तै गैंडाकोटमा सहकारीमा विचलन नहोस् र सदस्य र सहकारी दुवैलाई असर नपरोस् भनरे कार्यक्रम गरेको पनि उहाँले बताउनुभएको छ। यी अभिमुखीकरण कार्यक्रम कानुन र निर्देशनका बारेमा जानकारी गराउँदा यसले सजग र सचेत हुन पनि मद्दत मिल्ने उहाँको भनाइ छ ।
राष्ट्रिय सहकारी निर्देशनहरू २०८२ का बारेमा गैंडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र गौतमले जानकारी गराउनुभएको थियो भने यसका जिज्ञासाहरूका बारेमा विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले जिज्ञासाको समाधान गर्नुभएको थियो। कार्यक्रममा गैंडाकोटमा रहेका सहकारीका अध्यक्ष एवं व्यवस्थापकको सहभागिता रहेको थियो। २५ सहकारीका ४८ जना अध्यक्ष र व्यवस्थापकको सहभागिता रहेको जनाइएको छ।
गैंडाकोटमा तीन सहकारी निष्क्रिय
गैंडाकोट नगरपालिकामा तीन सहकारी निस्क्रिय रहेका छन्। गैंडाकोट नगरपालिकामा रहेका ३६ सहकारीमध्ये तीन सहकारी निस्क्रिय रहेको गैडाकोट नगरपालिका सहकारी शाखा प्रमुख देवेन्द्र गौतमले जानकारी दिनुभएको छ । प्रयास कृषि सहकारी गैँडाकोट १०, एभरेष्ट्र माहुरी सहकारी गैँडाकोट ८, महिला मिलन सहकारी गैडाकोट १८ को निष्क्रिय सहकारी रहेको गैंडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र गौतमले जानकारी दिनुभएको छ ।