सरकार म बाँच्ने आधार खोइ ?

कान्लोमा पानी खन्याएजस्तो तिम्रो चाल
संवेदनाहीन तिम्रो नियम
कति फितला तिम्रा शब्द
मान्छे तर्साउने, समाज भड्काउने ।
शब्दसँगैका सूचनाहरु
घाउ ड्रेसिङ्ग गर्ने बाहना गर्दै
नुन र चुक थप्न लगाउने तिमी
वेस्वाद, निरश र अर्थहीन योजना ।
हिजो रित्तियो, बिर्सियो पनि
आज पनि रित्तो, बेसाहार पनि
भोली भविष्य छैन, साहारा छैन
उदाङ्गो अनि बेसुर बनाउन
उद्यत सरकार ।
अझै कति नाङ्गिने र देखाउने
वर्षौको घाउ
फेरि ब्युताउदै
उही वेदनामा
चित्कारमा, असफल व्यवस्थामा ।
मसँग आज हिजो छैन,
भविष्य छैन,
निर्दोषिताको प्रमाण छैन ।
मसँग मैले पिएको आँशु छ
बिग्रिएको पाठेघर,
टोकिएका स्तन,
शारीरिक नीलडाम,
बमका छर्राहरु, गोलीका खाटाहरु,
मनस्थिति लथालिंग छ,
हिंसाजन्य अपशब्द र पेचिला वचनहरु
बन्दुकको नालले कोपेका संवेदनशील अंग
च्यातिएका यौनाङ्ग अनि
सुकेका आँखाहरु छन् ।
मौनता अनि मलिन गराइएको मेरो स्वर
मेरो चिरहरणबाट
चलेको मेरो समाज र शासन
बनेका वडाध्यक्ष, सदस्यहरु,
अध्यक्ष, उपाध्यक्षहरु, प्रमुख र उपप्रमुखहरुद्वारा
सरकार, मेरो हिसाब किताब मागीरहेछ ।
यौनहिंसा र बलत्कारको पीडा
निवेदनमा समेट्न भन्छ ।
म कसरी देखिउँ उसका अगाडि ?
मेरो सुवास लुटेर आएको व्यवस्था
लुट्ने र लुटाउने दुवै सरकार बनेर बसेका छन्
जसले मेरो अस्तित्वमाथि खेलवाड गरेको थियो ।
यहाँ गोप्य हुनुपर्ने कुरा
भङ्ग गरिएको छ,
छरपष्ट पारिएको छ ।
म बाँच्ने आधार खोइ सरकार ?
मेरो प्रश्न अनि तिम्रा शब्द
कति फितला ?
मेरो संवेदनशीलता खोइ ?
मेरो गोपनीयता खोइ ?
मान्छे बेच्नजस्तो सजिलो छैन यहाँ
म बाँच्ने आधार खोइ सरकार ?
नर्मदा पाण्डे