किसान बचत सहकारी संस्थाले ३१औं वर्ष प्रवेश गर्दै सप्ताहव्यापी सामाजिक कार्यक्रम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था ले ३० वर्ष पुरा गरी ३१औं वर्ष प्रवेश गरेको अवसरमा असार १३ देखि १५ गतेसम्म विभिन्न सामाजिक तथा सार्वजनिक हितका कार्यक्रमहरू संचालन गरेको छ। संस्थाले स्थापना दिवसको अवसरमा जेब्राक्रस निर्माण, ट्राफिक सचेतना, सार्वजनिक स्थल सरसफाई, धान खेत रोपाईं तथा शैक्षिक सामग्री वितरण जस्ता कार्यक्रमहरू गरी आफ्नो सामाजिक उत्तरदायित्व पूरा गरेको छ। संस्थाको ३०औं स्थापना दिवस असार १५ गते गैंडाकोटमा भव्य रूपमा मनाइएको थियो। सो अवसरमा संस्थाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा गैंडाकोट नगरपालिकाका मेयर मदन भक्त अधिकारी प्रमुख अतिथि तथा उपमेयर शान्ति कोईराला र वडा नं. ८ का अध्यक्ष प्रेम सापकोटा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा बोल्दै मेयर अधिकारीले किसान साकोसले समुदायमा विश्वास र भरोसा कायम गर्दै गैंडाकोटलाई सहकारी क्षेत्रको परिचायक बनाएको उल्लेख गर्दै संस्थालाई सफलताको शुभकामना दिनुभयो । उपमेयर कोईरालाले सहकारी संस्थाले महिलालाई आत्मनिर्भर बनाउन थप काम गर्नुपर्ने र २५ हजारभन्दा बढी महिलालाई गोलबद्ध गरिसकेकोमा खुशी व्यक्त गर्नुभयो । वडा अध्यक्ष सापकोटाले सहकारीको व्यवस्थापनमा सदस्यको भावनालाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । संस्थाका पूर्व अध्यक्ष गोपाल प्रसाद गौतमले सहकारी क्षेत्रका कानुनी चुनौती र आगामी योजना बारे जानकारी दिनुभयो ।
असार १३ र १४ गते ट्राफिक सचेतना कार्यक्रम, सार्वजनिक स्थल सरसफाई तथा जेब्राक्रस निर्माण गरी विद्यार्थी र स्थानीयहरूलाई जागरूक गराइएको थियो। असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा पञ्चवटि क्षेत्रका कृषकहरूले सामूहिक रूपमा धान रोपाईं सम्पन्न गरे।
साथै, संस्थाले सामुदायिक विद्यालयका ५१ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ भने गैंडाकोट इङ्लिश बोर्डिङ स्कूलको सहकार्यमा जटिल स्वास्थ्य समस्या भोगिरहेका सदस्यका बालबालिकालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ।
संस्थाको स्थापना २०५२ असार १५ गते स्थानीय २५ जनाको सक्रियतामा भएको हो। अहिलेसम्म २५ वटा सहकारी संस्थासँग एकीकरण गरी समुदाय र सदस्य केन्द्रित सेवा दिँदै आइरहेको यो संस्था नाफाभन्दा सदस्य र समाजको हितमा बढी ध्यान दिनेमध्ये एक संस्था मानिन्छ। विभिन्न २५ वटा संस्था जोडिएर किसान साकोस बनेको हुनाले सबै संस्थाको स्थापनाकाल देखि एकीकरण पूर्वका सम्पूर्ण नेतृत्वहरुसँग साक्षात्कार गर्दै मार्गदर्शन प्राप्त गरेको छ ।