स्थानीय विकासको दर्बिलो आयस्रोत बन्दै ,'ऐना पहरा '

विष्णु पन्थी (विनु) । गरे के हुँदैन र भन्ने ज्वलन्त उदाहरण बनेको रहेछ आँबुखैरेनीमा अवस्थित 'ऐना पहरा'। जहाँ स्थानीय सरकारद्वारा पर्यटकीय स्थल निर्माण गरेर आयआर्जन सिर्जना गरेको रहेछ । यो पृथ्वीराजमार्ग नजिकै पर्ने तनहुँको आँबुखैरेनी ४ मा अवस्थित छ । नेपालको स्थानीय सरकार ऐन २०७४ को संविधानमा व्यवस्था गरेअनुसार स्थानीय तहलाई सशक्त बनाउने उद्देश्यले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, र जिल्ला समन्वय समितिहरूलाई विभिन्न अधिकार र जिम्मेवारी प्रदान गरेको छ। सोही अनुसार आँबुखैरेनी गाउँपालिकामा पर्ने ऐना पहरा (Aina Pahara) एउटा रमणीय प्राकृतिक झरना तथा पार्क निर्माण स्थानीय सरकारले गरेको रहेछ। उक्त स्थानलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने काम तीव्र रुपमा भइरहेको देखियो । साँगुरो सडक दुवैतिर पहाडको खोज, ठुलाठुला ढुङ्गा पहराको बीचबाट बग्ने छहरा तथा त्यहाँ रहेका चट्टान, पाखापखेरा, माटो तथा प्राकृतिक सुन्दरता सबैको सदुपयोग गरेर निर्माण गरिएको रमणीय स्थललाई हेर्ने अवसर हामीलाई एक्कासी पोखराको विरौटामा लागेको ज्ञान महायज्ञले जुरायो ।
गर्मीका कारण तीन दिन नवलपुर र चितवनका केही विद्यालयहरू बिदा भए । सोही विदाको सदुपयोग गरेर शीतल अनि रमणीय स्थलतिर जाने विचार गर्यौ ।
महिनौ दिनदेखि पोखरामा धार्मिक ज्ञान महायज्ञ लागेको थियो । समय अभावका कारण उक्त महायज्ञस्थलसम्म जाने अवसर जुरेको थिएन । हामीहरुले २०८२ जेष्ठ २९ गते बेलुकी ५:३० बजे गैडाकोटदेखि पोखराको यात्रा तय गर्यौ। जाँदा जाँदै अध्यारो भयो । बाटोमा खासै केही देख्ने अवसर मिलेन । बेलुका पोखराको 'होटल दिदी' मा बास बसेर बिहान सबेरै ज्ञान महायज्ञ दर्शन गर्यौ । करिब तीन घण्टा ज्ञान महायज्ञस्थल विरौटमा बितायौँ । ज्ञान महायज्ञ विशाल लगानीमा सम्पन्न गरिँदै रहेछ । सयौँको संख्यामा कर्मचारीहरूको व्यवस्था गरिएको रहेछ । त्यसपछि खाना खाएर हामी पातले छाँगो, गुप्तेश्वर गुफालगायतका विभिन्न पोखराका पर्यटकीय स्थलहरूको अवलोकन गरेर २०८२/२/२९ गते पुन : गैंडाकोट फर्कँदै थियौँ । बीच बाटोमा आएर छाब्दी बाराही मन्दिरको दर्शन गर्यौँ । आदिकवि भानुभक्त आचार्य र घाँसी बीचको संवादले रामायण जस्तो काव्यलाई नेपालीमा अनुवाद गर्ने प्रेरणादायी भूमिका निर्वाह गरेको घाँसी कुवाको अवलोकन पनि गर्यौ । घाँस बेचेर घाँसीले खनाएको कुवाको अवस्था अहिले पृथ्वीराजमार्गको मुख्य सडक खण्डमा परेकाले त्यो कुवा संरक्षणको अभावमा अस्तव्यस्त बनेको रहेछ । ऐतिहासिक विषयवस्तु राष्ट्रका गहना हुन् । यस्ता ऐतिहासिक विषयहरू अस्तव्यस्त बन्नु राष्ट्रका लागि त्यति राम्रो लागेन । ऐतिहासिक क्षेत्रको संरक्षण छिटो नै गर्नुपर्ने हो भन्ने कुरा मनमा खेलाउँदै हामी अगाडि बढ्यौँ । पृथ्वीराज मार्गको सडकमै पर्ने मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको ड्याममा आएर केहीबेर रोकियौं । ससाना केही डुङ्गा राखेर पर्यटकहरुलाई ड्यामको अवलोकन गर्ने र नदीमा जलक्रीडा गर्ने अवसर जुटाइएको रहेछ । जलसँग रमाउन खोज्ने केही पर्यटकहरूलाई मनोरञ्जन दिलाउन सफल भएको देखियो ।
हामी पुनः पृथ्वी राजमार्गकै बाटो हुँदै ऐना पहरा नजिकै गाडी रोक्यौँ । ऐना पहरा तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका अन्तर्गत वडा नं. ४ र २ को सिमानामा अवस्थित छ । प्राकृतिक झरना र पहरा पर्यापर्यटनका दृष्टिले पर्यटनका दृष्टिले उत्कृष्ट रहेकाे यो पृथ्वीराजमार्ग नजिकै रहेको छ । केही साँझ पर्न लागेकाले माथितिर हेर्दा बत्तीको अत्यन्तै आकर्षक दृश्य देखियो । खोलावारी ससाना छाप्रे पसल अनि खोलापारी नजिकै व्यवस्थित रूपमा राखिएको टिकट काउन्टर रहेछ । पृथ्वीराजमार्गकै नजिक रहेको हुनाले खोलावारी सडक छेउमै हाम्रो सवारी राख्यौँ । एक जनाको रु ५० रुपैयाँ टिकट काटेर उक्त काउन्टरबाट भित्र पसेर उकालो पहरातिर लाग्नु पर्ने रहेछ । सामान्य रूपमा देख्दा डरलाग्दो खोलाको छेउछाउ ठूलाठूला चट्टान, डरलाग्दा पहारा , पहराबाट खस्ने छहरा भएको उक्त स्थानलाई हाल स्थानीय सरकार अथवा गाउँपालिकाले सजाएर बेहुली जस्तै सिंगारेर आयआर्जनको स्रोत सिर्जना गर्न थालेको रहेछ । प्रवेशद्वारबाट हामी प्रवेश गरेर माथि गयौ । जति माथि गयौँ त्यति त्यहाँका प्राकृतिक स्रोत र साधनहरू आकर्षक देखिँदै गए । भिरालो जमिन चट्टानै चट्टान भएको स्थानमा दुईवटा सासाना भवन निर्माण गरेर होटल सञ्चालन गरेको छ भने कतै साना फूलका बिरुवाहरू रोपेर अनि ढुङ्गालाई पनि सजाएर आकर्षक बनाएको रहेछ। केही माथि जाँदा हात्तीको ठूलो मूर्ति बनाएको र विभिन्न किसिमका फूलहरू रोपेर सजाइएको दृश्य अत्यन्तै मनमोहक देखिए । ढलान सहित चट्टान ओछाइएर फराकिला सिडी निर्माण गरिएको छ । झिलिमिली बत्ती सहित बीचबीचमा सिसी क्यामेरा पनि जडान गरिएको रहेछ। ठूलाठूला पहरामा रहेका ढुङ्गामा मानव तथा विभिन्न देवदेवताका मूर्तिहरू बनाइएको छ । मुख्य पहरामा पहिलेदेखि नै हात्तीको प्रतिमा देखिँदो रहेछ । सोही स्थानमा ठूलो गणेश भगवानको प्रतीकको रुपमा रहेको हात्तीको मूर्ति पहिले नै रहेको र त्यसलाई अझै व्यवस्थित तरिकाले मिलाएर गणेश भगवान मानेर पुन: कुदिएको रहेछ । पार्क, कलाकृति र शौचालय जस्ता संरचनाहरू विकास हुँदैछन् ।
हाल स्थानीय गाउँपालिकाले रु. १.४० करोड बजेट विनियोजन गरी ऐना पार्क निर्माण गरेको रहेछ। उक्त स्थानमा एउटा होटल बनाएर स्थानीय सरकारले नै वार्षिक ८ लाख होटलले तिर्ने गरी टेन्डर आह्वान गरेर स्थानीय व्यापारीलाई जिम्मा लगाएको रहेछ । पचास रुपैयाँ टिकटमा प्रवेश अनुमति दिएर स्थानीय सरकारले नै दर्बिलो आयस्रोत बनाएको रहेछ । पार्क, कलाकृति, होटल, ब्याडमिन्टन स्थल, एउटा पिड बनाएको छ भने हेर्न जाने पर्यटकहरूलाई बस्नको लागि सिमेन्टका कुर्चीहरूको निर्माण गरेको रहेछ । आगामी दिनमा साहसिक खेलखेल्ने साधन जिपलाइन, स्वीमिङ पुल , ढुङ्गामा मूर्तिकला (जस्तै राम–सीता वा गुरुङ संस्कृति झल्किने मूर्तिहरू) निर्माण गर्ने योजना स्थानीय सरकारले लिएको रहेछ । प्राकृतिक झरना, चट्टानबाट बग्ने पानी र वरिपरिका हरियाली हुँदाहुँदै ती आकर्षक दृश्यहरू हेर्नको लागि स्थानीय सरकारले थप आकर्षक पूर्वाधारहरू निर्माणका लागि जोड दिएको त्यहाँ बस्ने कर्मचारीले सुनाए । अझै व्यवस्थित गर्ने हो भने अनुमान: वार्षिक रु. ५ करोड आयआर्जनको बृद्धि गर्ने सम्भावना रहेको कुरा त्यहाँ बस्ने कर्मचारीले सुनाए ।
ऐना पहरा तथा झरनाको पवित्र किंवदन्ती अनि प्राकृतिक सौन्दर्यको सङ्गम पनि मानिएको रहेछ ।
तनहुँ जिल्लाको सबैभन्दा अग्लो चुचुरो छिम्केश्वरीमाई मन्दिरको ( २१६५ मि. उचाई) काखबाट बग्दै आएको ऐना पहरा झरनाको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ। स्थानीय किंवदन्ती अनुसार बुढीमाई, छिम्केश्वरी लगायतका देवीहरू यस झरनामा स्नान गर्न आउने र झरनाको पानी ऐना जस्तै टल्किने भएकाले उनीहरू यहाँ ऐना हेरेर कपाल कोर्ने, शृङ्गार गर्ने गर्दथे अरे । सोही कारण यस स्थानको नाम ' ऐना पहरा ' रहन गएको हो । देवीहरूले प्रयोग गरेको यो पवित्र जलमा स्नान गर्दा मानिसको आत्मा शुद्ध हुने जनविश्वास रहेको छ । झरनाको पानी सधैं सफा चम्किलो , स्वच्छ देखिने र त्यसको प्रभावले टल्कने पहरा भएकाले पनि ऐना पहरा भन्न थालिएको जनविश्वास गरिन्छ । धार्मिक आस्थाका साथै यो झरना प्रकृति प्रेमी तीर्थयात्री तथा पर्यटकहरूका लागि आकर्षणको केन्द्र समेत बन्दै गएको छ। यहाँ आउने जो कोहीलाई शीतल अनुभूति दिने आध्यात्मिक शान्ति प्रदान गर्ने अनि प्राकृतिक सन्दर्भमा हराउने अद्भूत शक्ति छ । आबु खैरेनी गाउँपालिकाको संरक्षणमा निर्माण गरिएको हुनाले उक्त पूर्वाधारबाट प्राप्त हुने आम्दानी यस क्षेत्रको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने नीति अनुरुप नीति २०७१ श्रावण ४ गतेदेखि सशुल्क अवलोकन गर्ने व्यवस्था गरिएको हो ।
प्राकृतिक झरना ,चट्टानबाट बग्ने पानी र वरिपरिका हरियाली दृश्यले सबैको मन लोभ्याउँछ।
गाउँगाँउमा स्थानीय सरकारले सम्पूर्ण अधिकार प्राप्त गरेता पनि खासै उपलब्धि नदेखेर जनताहरूको भावनामा ठेस लागिरहेको बेला एउटा यस्तो नमुनायोग्य कार्य गरेर आन्तरिक तथा बाह्य पर्यटनका लागि आनन्ददायी स्थान बनाउनुका साथै उक्त आम्दानीबाट शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उद्देश्यका साथ स्थानीय सरकारलाई नै दर्बिलो आयार्जन सिर्जना गर्न सकेको उक्त गाउँपालिकाको कार्य उदाहरणीय लाग्यो । यदि तपाईंहरु पनि प्राकृतिक सुन्दरता प्रेमी हुनुहुन्छ भने, 'ऐना पहरा' एक अद्वितीय विकल्प हो जहाँ सांस्कृतिक कला र साहसिक मनोरञ्जन मिलेर पूर्ण आनन्द अनुभव दिन्छ । स्वच्छ, सुन्दर र प्राकृतिक वातावरण प्रेमीहरूका लागि यो एक अद्वितीय स्थान रहेको छ ।