पुस्तक अंश : चिट्ठी

२०७९ फाल्गुण २८ आइतबार १६:११:०० मा प्रकाशित

बिहे गरेर गए पनि रुबीलाई सम्झिन्थेँ म । सर्वस्व लिएर जानेहरूले पनि याद छाडेर जाँदा रहेछन् । किन किन उसको यादले आनन्द दिन्थ्यो मलाई । 

बेला बेला उसैको यादमा हराउँदै सोच्थेँ– उसले मेरो नाम रेडियोमा सुनी होला कि नाइँ रु सुनेर पनि याद गरी होला कि नाइँ ? 

के गरोस् रु ऊ त आफ्नै जिन्दगीमा रमाएकी होली । उसलाई त मैले याद गर्छु भन्ने कुरा पनि कहाँ थाहा होला र ?

विश्वास अविश्वास हुँदै फेरि विश्वासमा बदलियो । मलाई यस्तो लाग्यो, रुबी जहाँ भए पनि उसको र मेरो आकाश एउटै छ । हामीले हेर्ने जून एउटै छ । 

गाउँमा मात्रै होइन, रेडियोले मलाई पर परसम्मै फैलाएछ । तपाईंको गीत राम्रो लाग्यो, कविता राम्रो लाग्यो, मुक्तक राम्रो लाग्यो भन्दै चिट्ठीहरू आउन लागे । पहिलोपल्ट हुलाकी घर खोज्दै आयो । अकस्मात् भएका नयाँ घटनाहरूले पहिला त डर लाग्यो । आत्तिएँ । बिस्तारै बानी पर्दै गयो । रमाइलो लाग्न थाल्यो । 

एकदिन हुलाकीलाई भेटेर चिट्ठी घर नल्याउन अनुरोध गरेँ । हुलाकमा मै लिन आउँछु भनेँ । ऊ पनि खुसी भयो । म बाआमा, दिदीबाट जोगिएँ । ‘‘कसका चिट्ठी आउँछन् तँलाई ?’’ भन्ने कुराको जवाफ दिनु परेन ।  

जिन्दगीको नयाँ अध्याय सुरु भयो । हप्तामा एकपल्ट हुलाक अफिस पुग्थेँ । आफ्नो नाममा आएका चिट्ठीहरू लिन्थेँ ।  जवाफ फर्काउँथेँ । हवाईकार्ड रेडियोमा पठाइरहन्थेँ । यी सबै गर्न मलाई बाको कोट र दिदीको खुत्रुकेको खुब आवश्यकता पथ्र्यो । मैले ती दुवै ठाउँको भरपुर उपयोग गरिरहेँ ।

केही समय त आएका सबै चिट्ठीको जवाफ फर्काएँ । पछिपछि सक्दै सकिनँ । कति चोर्नु पैसा ? कति गर्नु जोहो ? के गरौं, अन्योलमा थिएँ ? आफूलाई माया गरेर चिट्ठी पठाउनेहरूलाई त्यत्तिकै छाड्ने मन थिएन । फेरि उपाय पनि त थिएन ।

एकदिन आफूलाई परेको समस्या ईश्वरीलाई सुनाएँ । सल्लाह मागेँ । उसैले निकाल्यो जुक्ति । भन्यो, ‘‘बे तुले, केटीहरूले पठाको चिट्ठीको मात्रै जवाफ फर्का न । अरूलाई किन फर्काउनुप¥यो जवाफ ?’’

मलाई पनि ईश्वरीको कुरा ठिकै लाग्यो । मैले उसैको जुक्ति मानेँ । केटाहरूलाई जवाफ फर्काउन छाडिदिएँ । मेरो खाटको गुन्द्रीमुनि थुप्रै चिट्ठीहरू थुप्रिए । केटाहरूले पठाउने चिट्ठी पढेर च्यातिदिन्थेँ । केटीहरूले पठाउने चिट्ठी पढेर गुन्द्रीमुनि लुकाउँथेँ । आफूले मन पराएका बीसौं चिट्ठीहरूमाथि सुतेर मीठो सपना देख्थेँ । यो सिलसिला लामो समय चलिरह्यो ।

रेडियोले यस्तरी फैलाएछ मलाई, चिट्ठी पठाउने केटीहरूको बाढी चल्यो । ओछ्यान मुन्तिरको गुन्द्री उक्सियो । मलाई फेरि डर लाग्न थाल्यो । 

आमाले घर सफा गर्दा यी चिट्ठीहरू देखिन् भने ? बाले थाहा पाए भने ? फेरि यी सबै चिट्ठीका जवाफ पनि फर्काउनु कसरी रु बाको कोटबाट पनि कति चोर्नु चिल्लर ? दिदीको खुत्रुकेबाट पनि कति तान्नु पैसा ? 

कहाँ लगेर राख्नु यी चिट्ठी ! आपत प¥यो । मेरो आपतको साथी सधैँ ईश्वरी थियो । फेरि उसैलाई सम्झिएँ । फेरि उसैले निकाल्यो जुक्ति । ममाथिको आकाश नीलो देखियो । काला बादलहरू ईश्वरीले पन्छ्याइदियो । 

एकदिन मसँगै बसेर ईश्वरीले सबैलाई एउटै व्यहोराको चिट्ठी लेख्यो । खाममा हाल्यो । खाम बन्द ग¥यो । पठाउन तयार पा¥यो । उसले लेखेको चिट्ठी मलाई चित्त बुझ्यो पनि, बुझेन पनि । उसका अगाडि गर्न सक्ने केही थिइनँ । फेरि मैले नै उसलाई जुक्ति निकाल्न लगाएको थिएँ । ऊ जे गर्दै थियो, बोल्न पनि नमिल्ने थियो । मात्रै, एकपल्ट दोहो¥याएर पढ्न मन लाग्यो चिट्ठी । ढुक्क हुन मन लाग्यो फेरि । मैले तयारी खामबाट एउटा चिट्ठी झिकेँ । पढेँ ः 

प्रिय मित्र, सञ्जु मगर 

ताप्लेजुङ ।

तपाईंको प्रेमले कोरिएका अक्षरहरूमा मैले आजभोलि आफूलाई खोज्न थालेको छु । कागज र कलम त रहेछ सेतु हाम्रो सम्बन्धको । त्यति टाढाबाट आएका अक्षरहरू, आवाज बोकेर बोलिरहेछन् । म त अक्षरहरू छामेरै तपाईंको निस्वार्थ प्रेम अनुभव गरिरहेछु । साँच्चै प्रेम कति शक्तिशाली हुन्छ है ? अनुभव गर्दैछु आजभोलि । 

रहरले पखेटा हालेपछि त्यसै त्यसै उडिँदो रहेछ आकाशमा । खुला आकाशमा उडेका थुप्रै रहरहरू भेटिएर सपना बन्दो रहेछ । सपना त उड्दै उड्दै बादल पारिको आकाशमा पुग्दो रहेछ पर पर । हेर्नुस् त, मेरो सपना उड्दै उड्दै तपाईंको गाउँसम्म पुग्यो । तपाईंको घरसम्म पुग्यो । तपाईंको मनसम्म पुग्यो । म त कति भाग्यमानी मान्छे है ! तपाईंको मनमा बस्न पाउने । सबै मान्छेको भाग्यमा अरूको मनमा सजिलै बस्न कहाँ लेख्या हुन्छ र ? म तपाईंको मनमा बसेँ, तपाईंलाई मेरो मनमा बसाएँ । हामी दुवै कति भाग्यमानी  !

मेरो लागि श्रम, समय र माया खर्च गर्नुभयो । के गरेर ऋण तिरुँ ? केही गरी ऋण बोकेरै मरें भने माफ गर्नुहोला । मलाई त तपाईंको ऋण यही जुनीमा तिर्नु छ । पक्कै सम्भव होला त्यो, अवश्य मौका पनि पक्कै पाउँला मैले । 

हुन त समयले चाह्यो भने असम्भव के छ ? म त प्रतीक्षा गरिरहेछु त्यो दिनको । जुन दिन तपाईं मेरो नजिक हुनुहुनेछ । हामीले एक–अर्कालाई प्रत्यक्ष चिन्नेछौं । धेरैबेर बसेर गफ गर्नेछौं । मन मुटु साट्नेछौं । अनि बन्नेछौं– एकअर्काको प्रिय मान्छे ।

म त यत्तिकै जानी–नजानी भावनाहरू कोर्छु मनमा । लेख्छु कागजमा । अनि पठाउँछु रेडियोमा । कसैले यति धेरै माया गर्छ भन्ने कहिल्यै सोचिनँ । के भनेर लेखुँ ? के भनेर धन्यवाद दिऊँ ? शब्दहरूले संसार बोक्छन् भने यो संसार तपाईंकै नाउँमा अर्पण गरेँ । 

अन्तमा, हाँसी हाँसी स्वीकार गरिदिनुहोला मेरा यी शब्दले तयार पारी अर्पण गरेको यो संसार । मुटु फुकाएर पोखेको चोखो माया । अनि युग युग बाँचिरहने हाम्रो सम्बन्ध । पत्रमार्फत् नै भए पनि यो सम्बन्ध कहिल्यै नटुटोस् । कायम रहोस् निरन्तर । सक्नुहुन्छ भने यो पत्रको जवाफसँगै एउटा फोटो पनि पठाइदिनुहोला, अप्ठ्यारो नमानी । 

उही तपाईंको प्रिय मित्र ।

तुलसीदीप ढकाल 

नवलपरासी ।

चिट्ठी पढेँ । फेरि दोहो¥याएर पढेँ । राम्रो लाग्यो । अप्ठ्यारो केही लागेन । ईश्वरी मलाई हेर्दै मुसुमुसु हाँसिरहेको थियो । मलाई उसको हाँसो निःस्वार्थ लागेन । के छल गर्दै थियो ईश्वरी ? तत्काल भेउ पाउन सकिनँ । केही न केही त दिमागमा चलेको थियो उसको । मलाई भने ईश्वरीको लेखनले तान्यो । 

सोचेँ, यति राम्रो चिट्ठी लेख्दो रहेछ ईश्वरी ! यस्तो लेख्न जान्ने मान्छेले पक्कै गीत, कविता, गजल, मुक्तक पनि राम्रो लेख्दो हो । किन लेख्दैन ईश्वरी गीत ? किन लेख्दैन ईश्वरी कविता ? किन लेख्दैन ईश्वरी गजल ? किन लेख्दैन ईश्वरी मुक्तक ? किन रहर गर्दैन पठाउन रेडियोमा ? के ईश्वरी चारैतिर फैलिन चाहन्न ?

मेरो प्रश्न मैभित्र राखेँ । मलाई कुनै दिन बाले भनेको कुरा झट्ट सम्झना भयो । 

‘‘सबै मान्छेको रहर एउटै हुन्न तुले ! नारायणी नदी त नारायणी नदी हो । कोही पौडी खेल्न जान्छन् । कोही माछा मार्न जान्छन् । कोही डुङ्गा खियाउन जान्छन् । बुझिराख्, नारायणी नदी जीवनजस्तै हो । रहर कर्मजस्तै हो । रहर, रहरजस्तै हो । रहर त यस्तो हुन्छस पौडिन जानेको मान्छे पौडिन खोज्दैन । माछा मार्न जानेको मान्छे मार्न खोज्दैन । डुङ्गा खियाउन जानेको मान्छे खियाउन खोज्दैन । आफूसँग जे छैन, सबैभन्दा बढी त्यही खोज्छ रहर । आफूसँग नभएको प्रहरजस्तै हो रहर ।’’

बाको कुरा सम्झिँदा झसङ्ग भएँ । हो त । मलाई राम्रोसँग गीत लेख्न आउँदैन । न राम्रो कविता, गजल, मुक्तक लेख्न आउँछ । मसँग खुबी छैन तर अचम्मको रहर छ । ईश्वरीसँग अचम्मको खुबी रहेछ तर ऊ रहर गर्दैन । 

बाको कुरा ठिकै रहेछ । मान्छेको आआफ्नो रहर हुँदो रहेछ । ईश्वरीलाई सबैभन्दा बढी के कुराको रहर होला कुन्नि ? जान्न मन लाग्यो । सोचेँ, कुनै न कुनै दिन अवश्य पत्ता लगाउँछु ।

ईश्वरीको लहलहैमा लागेर एउटै व्यहोराको चिट्ठी पठाएँ सबैलाई । सन्तोष मान्ने एउटै कारण थियो, ईश्वरीले चिट्ठी निकै राम्रो लेखेको थियो । मलाई असाध्यै मन परेको थियो । 

चिट्ठी पठाएपछि केही समय प्रतीक्षा गर्नैपथ्र्यो । गरेँ । नतिजाको बारे ईश्वरीले अलिअलि भनेकै थियो । जानकार थिएँ । उत्साहित थिएँ । मभन्दा बढी त ऊ नै उत्साहित भएको थियो । हरेक दिन भेट्दा भन्न थालेको थियो, ‘‘तुले, फोटोसहितका चिट्ठीका जवाफहरू आए कि आएनन् रु आउने बित्तिकै खबर गर् है ।’’

केही समयपछि हामीले पठाएका चिट्ठीका जवाफहरू आउन थाले । तर यो पल्ट हरेक क्रियाको प्रतिक्रिया हुन्छ भन्ने न्यूटनको तेस्रो नियम लागू भएन । ज–जसलाई चिट्ठी पठाएका थियौं, सबैको जवाफ आएन । सबै क्रियाको प्रतिक्रिया भएन । 

ईश्वरी ढुक्क थियो, यस्तो हुन्छ भन्ने कुरामा । मात्रै मैले विश्वास गर्न सकेको थिइनँ । बाध्य भएँ । ईश्वरीले जित्यो । मैले हारेँ । स्वीकार गरेँ । हार स्वीकार गर्नुमा पनि आनन्द भेटियो । हामी खुसी थियौं । 

ईश्वरीले चिट्ठीको अन्तिममा ‘सक्नु हुन्छ भने यो पत्रको जवाफसँगै एउटा फोटो पनि पठाइदिनुहोला, अप्ठ्यारो नमानी’ भन्ने वाक्य थपेको थियो । मलाई त विश्वास थिएन । तर त्यही वाक्यले काम गरेछ । फोटो पठाउनुपर्छ भनेपछि जवाफ घटे । 

कुनैबेला ईश्वरी भन्थ्यो, ‘‘केटीहरूका बारे तँलाई के था छ बे तुले ! फोटोको कुरा गरेपछि तर्सिहाल्छन् बे । साला, बेचेरै खान्छ जस्तो गर्छन् । फोटो पो मागिन्छ । मान्छे नै आइज भनेजस्तो गर्छन् केटीहरू ।’’

चिट्ठी आउन कम भएपछि फोटोहरू पनि कम आए । कता कता नरमाइलो लाग्यो । मान्छेको मन न हो, सबै चिट्ठीको जवाफ आएको भए ? पहिले पहिले चिट्ठी पठाउनेहरू सबैको फोटो हेर्न पाएको भए ? कता कता लोभ उम्रियो । भित्रै निमोठेँ । ईश्वरीको अगाडि यस्तो कुरा निकाल्न हुने थिएन । आफैले भनेर गर्न लगाएको कुरा आफैले काट्न पनि नमिल्ने थियो । चुप लागेँ ।

दुई महिनामा मात्रै ६ वटा चिट्ठीको जवाफ आयो । अरूको हरायो । एकदिन घर कोही नभएको बेला ईश्वरी र म सँगै बस्यौं । ६ वटै चिट्ठी खोल्यौं । फोटो निकाल्यौं । एक–दुई फोटो हेनेबित्तिकै जवाफ नलेखूँ लाग्ने थिए । एक नजरमै मन नपर्ने । एक–दुई फोटो जोडी नमिल्ने थिए । बाँकी एक–दुई फोटो रहरलाग्दा थिए । हेर्दै छातीमा टाँसू टाँसू लाग्ने । सिरानीमुनि राखेर मीठो सपना देखूँ देखूँ लाग्ने । हानथाप गरेर आफ्नो बनाऊँझैं लाग्ने ।

अब भने म ईश्वरीले लगाएको जुक्तिको बारेमा पूर्ण जानकार भैसकेको थिएँ । हामीले ६ वटा फोटोबाट सजिलै दुईवटा फोटो छान्यौं । बाँकी चारवटालाई च्यातचुत पारेर बारीमा फाल्यौं । आफ्नै कर्मको सन्तुष्टिले अनुहार उजेलियो । जवाफ फर्काउन मात्रै दुईवटी केटी रोजियो । र, आफैले रोजेका केटीहरूलाई जवाफ फर्काउने सर्वसम्मत निर्णय पनि गरियो ।

छानिएका दुईवटी केटीमध्ये एउटीको फोटो मलाई असाध्यै मन परेको थियो । पहिलोपल्ट रुबीसँग तुलना गर्न सक्ने कोही भेटिएजस्तै लागेको थियो । 

ईश्वरीले भनेको थियो, ‘‘छानिएका दुईवटी केटीमध्ये एउटीलाई तँ जवाफ लेख् । अर्कीलाई म लेख्छु । चिट्ठी तेरै नामबाट पठाउँला ।’’ 

बाध्यता थियो, गरोस् के ईश्वरी रु मेरै नाममा आएका थिए चिट्ठी । मेरा गीत, कविता सुनेर त पठाउँथे चिट्ठी । म भित्रभित्रै फुलिएँ । सोचेँ, मेरो नाम रेडियोमा नआएको भए रु मेरो कविता, गीत–गजल, मुक्तक रेडियोमा नबजेको भए रु अहिले मौकामा चौका हान्न कहाँ पाउँथ्यो ईश्वरी ?

भित्रभित्रै जलन भयो । आफैले बालेको आगो आफैले पानी हालेर निभाएँ । शीतल भएँ । ईश्वरीसँग जल्नु वा घुँडो कोपर्नु एउटै थियो । मनलाई फुलाएँ । फकाएँ ।

मेरो दुर्भाग्य ! मलाई सबैभन्दा मन परेको फोटो ईश्वरीले छान्यो । भन्यो, ‘‘बाहुन, यसलाई म जवाफ लेख्छु । तैंले यी यो अर्कीलाई लेख् ।’’

ईश्वरीको कुराले एकपल्ट फेरि मन भाँच्चियो । कुँडियो । मुखबाट निस्किएको अमिलो पानी आँगनमा थुकेँ मैले । गरुँ के रु ‘हैन, तैंले यसलाई लेख्, म यसलाई लेख्छु’ भनेर साटफेर गर्न सकिनँ । हेर्दाहेर्दै ईश्वरीले मेरै अगाडि मेरो खुसी लुट्यो । फौजीले रुबीलाई लुटेर घाइते पारेकै थियो । ईश्वरीले फेरि घाँटी थिच्यो । खुत्रुक्कै पा¥यो ।

लुटिनु र लड्नु नै जीवन भयो मेरो । मैले सहनु थियो । सहेँ । लाग्यो, आखिर ईश्वरीले जवाफ लेखे पनि मेरै नामबाट पठाउने न हो चिट्ठी । उसले पनि मेरै नामबाट पाउने न हो चिट्ठी । त्यो केटीलाई के थाहा, ईश्वरी को हो भन्ने ! उसलाई त मात्रै मेरोबारे थाहा छ । मेरो नाम थाहा छ । फरक के पर्छ ? अन्तिममा जसले जसलाई जवाफ लेखे पनि चिल्लै हुने त ईश्वरी नै हो । पाउने, गुमाउने सबै मैले नै हो ।

यसरी आफ्नै कल्पनाले ढुक्क भएँ म । ईश्वरीको हस्तक्षेपले उब्जिएको डर ओइलायो । सुकेको पात बनेर झ¥यो ।

हामी सम्झौता गरेर छुट्टियौं । ईश्वरी मेरो प्रिय फोटो बोकेर आफ्नो घर गयो । सिरानीमुनि राख्यो । र, सुत्यो ढुक्कले । सायद मीठो सपना पनि देख्यो । मैले कम मन परेको फोटो सिरानीमुनि राखेँ । न ढुक्कले सुत्न सकेँ, न मीठो सपना देख्न सकेँ । मेरो निन्द्रा र मेरो सपना ईश्वरीको सिरानीमा च्यापियो । किन किन आफ्नै सिरानीले बेस्मारी बिझायो मलाई ।

ढकालको हालै प्रकाशित उपन्यास ‘जौवा’ बाट