गैँडाकोट ५ मा नयाँ गुम्बा भवनको शिलान्यास 

२०८० बैशाख ६ बुधबार १८:०४:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट ५ मा साङ्गे छोयलिङ्ग महाबौद्ध गुम्बाको आज शिलान्यास गरिएको छ । गुम्बा र गणेश मन्दिर एकै स्थानमा रहेको गणेश मन्दिर परिसरमा नयाँ गुम्बा स्थापनार्थ गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गुम्बाको शिलान्यास गर्नुभएको हो । 
प्यागोडा शैलीमा ३ तले गुम्बा निर्माण हुने साङ्गे छोयलिङ्ग महाबौद्ध गुम्बाका अध्यक्ष किसान गुरुङले जानकारी दिनुभयो । करिब १ करोड ५५ लाखको लागतमा बन्ने सो गुम्बा २ बर्षभित्रमा सम्पन्न हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । हालसम्म प्रदेश, नगर र सहयोगीदाताबाट ३० लाख रुपैयाँ जम्मा गरिसकेको बताउँदै आगामी दिनमा पनि सहयोग गर्नेको साथ सहयोगले गुम्बा बन्ने उहाँको भनाई छ । उहाँले गणेश मन्दिर, प्रभात युवा क्लब र गुम्बा एकै परिसरमा निर्माण गरेर धार्मिक सहिष्णुणताको उदाहरण बनेको बताउँदै समाजका सबै व्यक्ति, भाषा, धर्म जे भएपनि समानता र सद्भावको आधारमा अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । 

गैँडाकोटका नगरप्रमुख मदनभक्त अधिकारीले गुम्बा निर्माणमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले एकै स्थानमा गुम्बा र मन्दिर देख्न पाईएको बताउँदै यसले सामाजिक सद्भाव कायम गर्ने बताउनुभयो । 
यहाँ रहेको गुम्बा भुकम्पीय सुरक्षाको दृष्ट्रिकोणले कमजोर रहेको साथै अर्को आकर्षक गुम्बा निर्माण गर्ने हेतुले समिति अघि बढेको छ । शिलान्यास कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरउपप्रमुख शान्ति कोइराला, गैँडाकोट ५ का वडाध्यक्ष रत्न सापकोटा, कार्यपालिका सदस्य शान्ति न्यौपाने, ५ का निवर्तमान वडाध्यक्ष नवराज कँडेल, गैँडाकोट उद्योग बाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचन लगायतको उपस्थिति रहेको थियो ।