नवलपुरका १८ जना मिटरब्याजपीडितको उजुरी

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा १८ जना मिटरब्याज पीडितले उजुरी दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय कावासोतीमा हालसम्म ८ महिलासहित १८ जनाले उजुरी दर्ता गराएको कार्यालयका मुद्दा शाखाका नायव सुब्बा यादव पराजुलीले जानकारी दिनुभयो ।
अनुचित लेनदेन (मिटर ब्याज) पीडित सहायता कक्षका फोकल पर्सन समेत रहनुभएका पराजुलीका अनुसार उजुरी दर्ता गराउनेमा कावासोतीका ७ जना, मध्यविन्दुका ५ जना, देवचुलीका ५ जना र विनयी त्रिवेणीका १ जना रहेका छन् । उजुरीकर्ताहरुले चेक भन्दा बढी नगद करोबार गरेको देखिन्छ । उजुरीकर्ताले २२ जनासम्मलाई विपक्षी बनाएर उजुरी दिएको पाइएको छ । उक्त व्यक्तिले ५–७ करोड सम्म कारोबार गरेको देखिन्छ । उजुरीलाई आधार मान्ने हो भने ६–७ जनाको उजुरीमा एउटै व्यक्तिसँग पटक–पटक कारोबार धेरै गरेको देखिन्छ ।
तमसुक नगरेको, चेक भन्दा बढी नगद कारोबार गरेको कारण यथेष्ठ प्रमाण नभएपनि ठूलो रकममा कारोबार हुन सक्ने जनाइएको छ । प्रमाण बिनाको उजुरी बढी रहेको नायव सुब्बा पराजुलीले बताउनुभयो ।
सामाजिक प्रतिष्ठाका कारण अझै उजुरी गर्न नआएको आङ्कलन गरिएको छ । मुद्दा शाखाका नायव सुब्बा यादव पराजुलीले भन्नुभयो, “उजुरी कम पर्नुको कारण सामाजिक प्रतिष्ठा पनि जोडिएको छ, फेरी समाजमा सँगै बस्ने गरेको रिसाउँछन भन्ने आवाज छ, कतिसम्म भने उजुरी दिएपछि पनि आफन्ती हो फलानो नाम हटाइदिनु न भन्दै आउने पनि छन् ।”
नवलपुरमा वैशाख २८ सम्म मात्र १ जनाले उजुरी दर्ता गराएका थिए । अन्य सबै एकसातामा आएका उजुरी हुन् । दोस्रो पटक म्याद थपिएकोमा हिजो र आज भने उजुरी आएका छैनन् ।
अनुचित लेनदेन (मिटर ब्याज) बाट पीडितहरुको छानबिनका लागि पीडितहरुको निवेदन दिन अन्तिम पटक भन्दै थप ७ दिनको समय थप गर्दै जेठ १४ गते सम्मलाई तोकिएको छ । पीडितहरुले आफ्नो भएसम्मका सवुद प्रमाण सहित भएको व्यहोरा खुलाइ अनलाइनबाट वा सिधै अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने छन् ।