भारतीय कलाकार आशीष विद्यार्थीले गरे दोस्रो बिहे

२०८० जेठ १२ शुक्रबार १४:०३:०० मा प्रकाशित

बलिउड फिल्ममा खलनायकको भूमिका निर्वाह गरेर चर्चामा आएका आशीष विद्यार्थीले विवाह गरेका छन्। उनले ६० वर्षको उमेरमा रूपाली बरूआसँग दोस्रो विवाह गरेका हुन्। उनीहरूले बिहीबार कानुनी रूपमा विवाह गरेका छन्। आशीषले विवाहपछि मिडियासँग कुराकानी गर्दै भने, ‘जिन्दगीको यो विन्दूमा रूपालीसँग विवाह गर्दा ‘एक्स्ट्रा–अर्डिनरी’ महसुस भइरहेको छ। म यो विवाहबाट निकै खुसी छु।’
भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार असम राज्यकी रूपाली फेशन डिजाइनर हुन्। उनको कोलकतामा फेसन स्टोर छ।
आशीष र रूपालीको १० वर्ष उमेर अन्तर छ। आशीष ६० वर्ष भए भने रूपाली ५० वर्षकी हुन्।आशीषको पहिलो बिहे अभिनेत्री शकुन्तला बरूआकी छोरी राजोशी बरूआसँग भएको थियो। उनीहरूका एक छोरा छन्। यद्यपि उनीहरूबीच डिभोर्स भइसकेको छ।
आशीषले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम गरी ११ भाषामा करिब २०० वटा फिल्ममा काम गरिसकेका छन्। उनी पछिल्लो समय अमिताभ बच्चनसँग फिल्म ‘गुडबाइ’ मा देखिएका थिए।