राम्रो विद्यालय छान्ने पाँच उपाय 

२०८० माघ २७ शनिबार २२:०४:०० मा प्रकाशित


भारतीय एक जना धार्मिक गुरुको भनाइबाट आजको प्रसंग सुरुवात गर्दछु । उहाँले भन्नुभएको थियो “हावा त जहाँसुकै हुन्छ तर टायर पन्चर हुँदा हावा हाल्न पम्प भएको वक्र्ससपमा जानै पर्दछ, ईश्वर हरेक कण कणमा हुन्छन् तर प्रार्थना गर्नका लागि मन्दिर पुग्नै पर्दछ ।” हामीले प्रत्येक पल प्रत्येक क्षण ज्ञान आर्जन गरिरहेकै हुन्छाँै तर पनि उमेरसमूह अनुसारको ज्ञान वा शिक्षा आर्जन गर्नका लागि विद्यालय जानै पर्दछ । भर्खर विद्यालय जाने उमेर समूहका बालबालिकाका अभिभावकहरूका लागि कस्तो विद्यालय छान्ने ? कस्तो विद्यालयलाई राम्रो विद्यालय भन्ने ? जिज्ञासा हुन सक्छ । द्विविधा पनि हुन सक्छ । राम्रो विद्यालयका केही सामान्य मानकहरूका बारेमा तपाईंलाई जानकारी दिन्छु । 
कुनै विद्यालयलाई राम्रो मान्नका लागि कसैले भनेको कुरालाई पनि आधार नबनाउनुहोस् । सामाजिक सञ्जालमा देखिने चमक धमकलाई पनि आधार नबनाउनुहोस् । तपाईंले आफ्ना नानी बाबु यही फागुन २ गते कुनै विद्यालयमा अक्षरराम्भ गराउने सोच बनाउनुभएको छ भने मैले आज चर्चा गर्न खोजेका कुराहरूका बारेमा अवश्य ध्यान दिनुहोस् । तपाईंको बाबुनानीको भविष्यका लागि उपयुक्त विद्यालय छनोट गर्ने जिम्मेवारी पनि तपाईंकै हो । एकपटकको सहि छनौटले भविष्य बदल्न सक्छ । 
कुन विद्यालय राम्रो भन्ने थाहा पाउनका लागि सबै भन्दा पहिला विद्यालय भित्र नै अवलोकन गर्नुपर्दछ । राम्रो विद्यालय हो कि होइन ? थाहा पाउनका लागि प्रतिवेदनमा उल्लेख भएको औसत सिकाइ उपलब्धीको अंक हेरेर मात्र पुग्दैन । विद्यालयको परिवेश हेरेर पनि विद्यालय राम्रो वा नराम्रो थाहा पाउन सकिन्छ । राम्रो विद्यालयका पाँच वटा पक्षको चर्चा गरौँ । 
१. सरसफाई

 दिउँसो मध्यान्न पछि, विद्यालयको वातावरण सफा छ भने त्यो विद्यालय तपाईंको नानी बाबुका लागि उपयुक्त विद्यालय हो । विहान १० बजे पुग्दा सबै विद्यालय सफा नै देखिन्छन् । विहान सफाइ कर्मचारीले विद्यालय सफा गरेका हुन्छन् । यदी हाफ टाइम पछि पनि विद्यालयको वातारण सफा छ भने त्यो विद्यालयका विद्यार्थी अनुशासित छन् भन्ने थाहा पाउनुहोस् । दिउँसो मध्यान्तर पछि पनि विद्यालयको वातावरण सफा छ भने त्यस विद्यालयका विद्यार्थीलाई शिक्षकले राम्रो शिक्षा दिएका छन् । त्यस विद्यालयका विद्यार्थीले शिक्षालाई व्यवहारमा उतारेका छन् । 

२. फूलबारी

यदी तपाईंले कुनै विद्यालयभित्र मौसम अनुसारका फूलहरू भएको फूलबारी देख्नुभएको छ । फूलहरू ढकमक्क फूलेका छन्, नजिकमा विद्यार्थी खेलेका छन् भने त्यो विद्यालय तपाईंका नानी बाबुका लागि उपयुक्त विद्यालय हो । सयौँ विद्यार्थीरू हिँड्डुल गर्ने, खेल्ने, दौडधुप चल्ने विद्यालयको प्राङ्गणमा फूलहरु ढकमक्क हुनु भनेको त्यस विद्यालयका विद्यार्थी अनुशासित छन् । फूलबारीको संरक्षणमा सचेत छन् । अझै आफै फूलहरू रोप्छन्, पानी हाल्छन् र गोडमेल पनि गर्छन भने अझ उत्तम हुने भयो ।  शिक्षकले उनीहरूलाई राम्रो शिक्षा दिएका कारण नै यो सम्भव भएको हो । 


३. नमस्कार

तपाईं कुनै विद्यालय प्रवेश गर्नुभयो र प्रवेश गर्ने बित्तिकै तपाईंलाई नचिन्ने विद्यार्थीहरूले पनि नमस्कार भन्छन् भने त्यो विद्यालय तपाईंको बाबुनानीका लागि उपयुक्त विद्यालय हो । अन्जान व्यक्ति, आफ्नो विद्यालय हाताभित्र प्रवेश गर्दै गर्दा आदर सम्मान पूर्वक सम्बोधन गर्न सबै बालबालिकालाई सिकाइएको त्यो विद्यालय तपाईंका नानी बाबुका लागि उपयुक्त हो । त्यहाँका शिक्षकले व्यवहार कुशल सीप विकासमा जोड दिएको सहजै थाहा पाउन सकिन्छ ।

४. सरस्वती मन्दिर

प्रायशः सबै विद्यालयहरूमा ज्ञानकी प्रतिमूर्ति सरस्वती माताको मन्दिर निर्माण गरिएको हुन्छ । सरस्वती मन्दिरको अवलोकन गरेर पनि तपाईंले त्यो विद्यालय राम्रो छ कि छैन भने थाहा पाउन सक्नुहुन्छ । प्रायशः सरस्वती माताको मन्दिर विद्यालयको गेट प्रवेश गर्ने वित्तिकै राखिएको हुन्छ । दैनिक रुपमा सरस्वती माताको मन्दिर सफाई, पुजा गरि खुला राख्ने गरिएको छ र  विद्यार्थीले सरस्वती माताको दर्शन गरेर विद्यालय प्रवेश गरेको देख्नुभयो भने त्यो विद्यालय राम्रो विद्यालयको रुपमा लिन सक्नुहुन्छ । किन भने त्यस विद्यालयले विद्यार्थीलाई संस्कारयुक्त बनाएको सहजै अनुमान लगाउन सकिन्छ । हामी कहाँ वर्षको एक दिनमात्र सरस्वती मन्दिरमा पूजा गर्ने र ताल्चा लगाएर वर्ष दिन राख्ने पनि गरिएको पाइन्छ । यस्तो विद्यालयलाई तपाईं कसरी राम्रो विद्यालय मान्न सक्नुहुन्छ । शिक्षा व्यवहारीक कुरा हो मार्कसिटमा नम्बर मात्र नखोज्नुहोला । 

५. शौचालय  

शौचालय पनि राम्रो विद्यालय छ कि छैन भने थाहा पाउने अर्को मानक हो । दुर्गन्धकै कारण शौचालय कहाँ छ भन्ने कुरा आफै थाहा पाउनुभयो भने त्यो विद्यालय तपाईंको नानी बाबुका लागि उपयुक्त छैन । शौचालय तपाईंले सोधेर कसैले देखाइदिएपछि मात्र थाहा पाउनु पर्दछ । दुर्गन्धका कारण नाकले पहिलै शौचालय यता रहेछ भनेर थाहा पाउनुभयो भने त्यो विद्यालयले तपाईंका बाबुनानीलाई के शिक्षा दिन्छ र तपाईंको घरको सरसफाइ कस्तो हुन्छ होला । विद्यालयमा सिकेका कुरा नै नानी बाबुले घरमा व्यवहारमा उतार्ने हुन् । 

लेखक  : श्रीधर उपाध्याय, सामुदायिक रेडियो विजय एफएम १०१.६ का स्टेशन म्यानेजर हुनुहुन्छ ।